कागतीमा आत्मनिर्भर झापा « Khabarhub

कागतीमा आत्मनिर्भर झापा


२९ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापा जिल्ला कागतीमा आत्मनिर्भर भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । च्याउ र केरामा आत्मनिर्भर झापा अब कागतीको जिल्लाका रूपमा समेत चिनिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा झापामा एक हजार एक सय ४० मेट्रिक टन कागती उत्पादन भएको र चालु आवमा अझ बढ्ने कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले बताए । उनका अनुसार जिल्लामा ४० भन्दा बढी किसान कागतीको व्यावसायिक खेतीमा लागेका छन् । पन्ध्र पालिकामध्ये मेचीनगर, अर्जुनधारा, बिर्तामोड, गौरादह र बुद्धशान्ति कागती खेतीको ‘हब’ बनिरहेका छन् । 

‘अब भारतबाट कागती आयात गर्नुपर्ने अवस्था छैन’, सूचना अधिकारी शिवाकोटीले भने, ‘बजारमा अहिले स्थानीय कागती भरमार पाइन्छ । बरु बिक्री गर्नका लागि किसान आफैँ गाडीमा कागतीका पोका लिएर गाउँगाउँ पुग्न थालेका छन् ।’

कागती उत्पादनमा लागेका किसानले १० कठ्ठादेखि सात बिघासम्म जमिन भाडामा लिएर व्यावसायिकरूपमा कागती खेती गर्दै आएको पाइन्छ । झापाको भूबनोट कागतीखेतीका लागि उर्वर रहेको ज्ञान केन्द्रको भनाइ छ ।

अर्जुनधारा नगरपालिका-९ का ६० वर्षीय पुष्प रेग्मी झापामा कागती खेती गर्दै आएका अगुवा कृषक हुन् । उनले सुरुमा आफ्नै जमिनमा एक बिघा १५ कट्ठामा परीक्षणका लागि कागती खेती गरे । तीन वर्षपछि कागतीले सोचेभन्दा बढी उत्पादन र आम्दानी दिएपछि उनले बुद्धशान्ति गाउँपालिका-१ होक्सेमा सात बिघा जमिन भाडामा लिए ।

भाडामा लिइएको जमिनको प्रतिबिघा वार्षिक ५० हजार ठेक्का बुझाउनुपर्छ । पन्ध्र वर्षका लागि भाडामा लिएर कागती खेती गरेका उनले दुई हजार दुई सय कागतीका बिरुवाले फल दिइरहेको जानकारी दिए । उनको आम्दानी बढेको देखेपछि छिमेकी अम्बिका फुँयालले कागती खेतीमा साझेदारी गर्न थालेका छन् ।

मल, कीटनाशक औषधि, भिटामिनलगायतका आवश्यक सामान चाहिएको बेला बजारमा उपलब्ध नहुँदा भने कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतको रोगले दुःख दिन थालेको फुँयालले गुनासो गरे ।

बुद्धशान्ति गाउँपालिका–२ जयपुरका राम उप्रेती विगत छ वर्षदेखि कागती खेतीमा जमेर लागेका छन् । दुई बिघामा कागती खेती गरेका उप्रेतीले वार्षिक पाँच लाख आम्दानी हुने गरेको जानकारी दिए । ‘कागती खेतीबाट फाइदै फाइदा छ, खुुसी छु’, कागती कृषक उप्रेती भन्छन्, ‘भारतबाट भित्रिने सस्तो कागतीले बजारमा असर पारिरहेको छ तर अब स्वदेशमै पुग्दो उत्पादन भइरहेको हुँदा भारतबाट आउने कागती सरकारले रोकिदिए हुन्थ्यो ।’

झापामा सुन-१, सुन-२, मद्रासी, युरिका र एनपीआरपी-५५ जातको कागती खेती हुँदै आएको छ । कागती खेती गर्न चाहनेका लागि जिल्लामा थुप्रै नर्सरीले बिरुवा उपलब्ध गराउँदै आएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्घोषका साथ विगत पाँच वर्षदेखि सहकारीमा आबद्ध सदस्यलाई कागतीको बिरुवा उपलब्ध गराउँदै आएको छ ।

बुद्धशान्तिका कृषक राम उप्रेतीले सुन-१ र सुन-२ जातको कागती खेती गरेको बताए । उनका अनुसार यो जातको कागतीले बाह्रैमास फल र आम्दानी दिन्छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी शिवाकोटीले झापामा गत आव २०७८/०७९ मा तीन सय हेक्टर जमिनमा कागती खेती विस्तार भएको बताए । यो वर्ष खेती अझै विस्तार हुने उनको भनाइ छ । विगतमा भन्दा जिल्लामा कागतीको खेती विस्तार हुँदै आएको उनको भनाइ छ । 

उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २०४ हेक्टर जमिनमा कागती खेती थियो । जसमा नौ सय ७४ मेट्रिक टन कागती उत्पादन भएको थियो । आव २०७६/०७७ मा १७८ हेक्टर जमिनमा कागती खेती भएको थियो । कृषि विज्ञले झापाको कम अम्लीय खालको माटो कागती खेतीका लागि उपयुक्त भएको बताउँदै आएका छन् । जिल्लाको दक्षिणीभन्दा उत्तरी क्षेत्रको माटो कागतीका लागि उर्वर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केरा र च्याउमा पनि आत्मनिर्भर

धान, चिया, प्राकृतिक रबर र माछा उत्पादनमा अग्रणी मानिएको झापा जिल्ला केरा र च्याउमा पहिल्यैदेखि आत्मनिर्भर छ । झापामा एक हजार नौ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ भने वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । यहाँ उत्पादित केरा मोरङ, सुनसरी, काठमाडौँ र पोखरासम्म निर्यात हुने गरेको छ ।

यसैगरी, जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले गाउँ-गाउँमा व्यावसायिकरूपमा उत्पादन हुँदै आएको छ । दुई सय मेट्रिक टन च्याउ जिल्लामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारमा बिक्री हुँदै आएको छ । 

झापामा २५ वर्षअघि कनकाई नगरपालिकाका गोपाल खत्रीले च्याउखेतीको सुरुआत गरेका थिए । उनले कसम च्याउ उद्योग सञ्चालनमा ल्याएको देखेपछि अरुले पनि खेतीको सिको गरेका थिए । झापामा उत्पादित च्याउले प्रदेश नम्बर १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौँमा समेत बजार पाउने गरेको छ ।

– चन्द्रकला भण्डारी रासस

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ६ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित