टीकापुरमा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु « Khabarhub

टीकापुरमा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ । नगरपालिकाले आवको आगामी भदौ महिनाबाटै विकास योजना कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन थालेको छ । 

टीकापुर –२ ले उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको छ । वडाले विभिन्न टोलमा १४ उपभोक्ता समिति गठनका लागि सूचना गरेको छ । वडाले भदौ १ गतेबाट भदौ ७ गतेसम्म समिति गठन गरिसक्ने गरी काम थालेको वडाध्यक्ष दीपक चौधरीले जानकारी दिए  । ‘कार्यालयले भदौ १५ गतेभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ । सोहीअनुसार हामी भदौ ७ गतेसम्म गठन गरिसक्ने गरी तालिका बनाएर काममा लागेका छौँ’, उनले भने, ‘वडास्तरमा हुने साना योजना उपभोक्ता समितिमार्फत काम गरिनेछन् ।’

टीकापुर–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि कार्यालयको निर्देशनअनुसार वडामा सात उपभोक्ता समिति गठन गर्नुपर्ने भएकाले आफूहरू भदौ ४ गतेबाट उपभोक्ता समिति गठन कार्यमा जुट्ने जानकारी दिए । ‘वडामा बाटो ग्राभेल, माटो पटानी, सडक निर्माणजस्ता कार्य उपभोक्ता समितिमार्फत गरिनेछन्’, उनले भने, ‘त्यसका लागि हामी समुदायमा टोल भेला गरेर उपभोक्ता समिति गठन गर्ने तयारीमा छौँ ।’

वडा नं १ मा अधिकांश विकास योजना ठेक्का प्रणालीबाट सञ्चालन गरिने र बाँकी योजनालाई विगतका दिनभन्दा केही फरक तरिकाले सञ्चालन गर्न समिति गठन गरिने वडाध्यक्ष मोहन बिकले बताए । ‘पालिकामा पूर्वाधारअन्तर्गतका भवन निर्माण, सडक कालोपत्रेजस्ता ठूला योजना बोलपत्रमार्फत सूचना गरेर ठेक्का प्रणालीबाट काम गरिन्छ’ ,उनले भने, ‘हाम्रो वडामा धेरै काम ठेक्का प्रणालीमार्फत हुनेछन् । हामी अहिलेबाटै योजना कार्यान्वयनमा खटेकाले यस वर्ष असारको अन्त्यमा कामको भार कम हुनेछ ।’

भदौ महिनामै उपभोक्ता समिति गठन गरेमा समयमै लागत अनुमान, सम्झौतालगायतका कार्य गरेर कात्तिक, मङ्सिरसम्म योजना सम्पन्न गरिसक्ने गरी काम गराउने तयारीमा पालिका रहेको छ । समयमै योजना कार्यान्वयन सुरु भएमा आवको अन्त्यमा हुने चाप घटाउने तयारीमा पालिका रहेको छ । नगरपालिकाले नीतिगतरूपमै असार विकासलाई निरुत्साहित गरेको छ । पालिकाले भदौ महिनाबाटै योजना तथा बजेट कार्यान्वयन गरी वैशाख महिनालाई भुक्तानीको महिनाका रुपमा काम गर्ने योजना बनाएको बताएको छ । 

नगरपालिकाले सबै वडामा भदौ १५ गतेभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ । नगरपालिकाले आवको सुरुआतमै सक्रिय भएमा आवको अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही बताए , ‘आवको सुरुआती चरणमा सक्रिय भएमा कामको भार घट्ने भएकाले हामी अहिले नै सक्रिय भएका हौँ’, उनले भने , ‘पूर्वाधारतर्फका योजना निर्माण र बजेट कार्यान्वयन प्रभावकारी बनाउन हामी काममा खटेका हौँ, समयमै योजना कार्यान्वयन भएमा आवको अन्त्यमा आगामी वर्षका योजना बनाउन सहज हुन्छ ।’

नगरपालिकाले यस आवमा विकास योजना वैशाखभित्रै सक्ने गरी काम थालेको बताएको छ । नगर उपप्रमुख खडकबहादुर शाहले चालु आवदेखि वैशाख महिनालाई भुक्तानी लिने महिनाका रुपमा काम गर्ने बताए  । ‘हामी चालु वर्षमा वैशाख महिना भुक्तानीको महिनाका रुपमा काम गर्छौं, पालिकाका सबै योजना चैतसम्म सम्पन्न गरिसक्ने गरी काम गर्छौं’, उनले भने , ‘यस वर्ष हामीले ठेक्कामार्फत सञ्चालन हुने योजनाको समेत म्याद थप गरिने छैन । तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।’

नगरपालिकामा यस वर्ष पूर्वाधारतर्फ एक सय ८५ योजना रहेका छन् । यी योजनामा साना योजना सडक पटानी, ग्राभेल, कल्भर्ट निर्माणजस्ता योजना उपभोक्तामार्फत र सडक कालोपत्रे, भवन निर्माणजस्ता ठूलो बजेटका योजना ठेक्कामार्फत सञ्चालन गर्ने गरिएका छन् । 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित