सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै « Khabarhub

सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।

भारतका विभिन्न सहरहरुमा सङ्क्रमण बढेसँगै यहाँको गड्डाचौकी, गौरीफन्टा र बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरूमा दिनहुँजसो सङ्क्रमण देखिने क्रम ह्वात्तै बढेको छ । यहाँका सबै सीमानाकामा प्रदेश सरकारको पहलमा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीहरूको टोलीले कोरोना परीक्षणसहित त्यस विरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो चौबीस घण्टामा सुदूरपश्चिममा भारतबाट स्वदेश फर्किने ९४ जना नेपालीमा कोरोना देखिएको छ । निर्देशनालयका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा ७४, कैलालीको गौरीफन्टा नाकामा १९, बैतडीको झुलाघाट नाकामा एक गरी ९४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी यहाँका अस्पतालहरूमा गरिएको कोरोना परीक्षणमा सोमबार मात्रै २५ जनामा देखिएको छ ।
पिसिआर विधिबाट गरिएको परीक्षणमा कैलालीको सेती प्रादेशिक अस्पतालमा २१, महाकाली प्रादेशिक अस्पतालमा एक, डडेल्धुरा अस्पतालमा दुई र अछाममा एक जनामा सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय २७ जना रहेको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले यहाँ सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको बताउँदै सर्वसाधारणले सचेत हुनुपर्नेमा जोड दिए । ‘महामारीबाट बच्न सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्य सतर्कता अपनाउन स्वयम् सर्वसाधारण सचेत हुन जरुरी छ’, जोशीले भने, ‘सरकारबाट नाका र अस्पतालमा परीक्षणदेखि खोजी अभियानसम्म सञ्चालन भइरहेको छ ।’ कोरोना कहरपछि सीमानाकामा स्वास्थ्यकर्मीको टोली नियमित रुपमा सक्रिय रहेको जोशीको भनाइ छ । सङ्क्रमण बढिरहेको भए पनि सहरदेखि ग्रामीण भेगसम्म मास्क लगाउन र भीडभाड नगर्न चेतनामूलक सूचना पनि जारी गरिएको छैन ।

त्यस्तै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सोमबार मात्रै ७४ जनामा कोरोना सङ्क्रमण देखिएको बताए । ‘नाकादेखि स्वास्थ्य संस्थामा जाँच गराउन आउनेमा सङ्क्रमण देखिने क्रम बढेको छ’, उनले भने, ‘सङ्क्रमण बढे पनि बिरामी गम्भीर नदेखिएकाले होम आइसोलेसनमा पठाइरहेका छौँ ।’

उनले सङ्क्रमणबाट बच्न आम सर्वसाधारणले सचेतना अपनाउनुपर्ने बताए । कोरोना महामारी सुरु भएयता सुदूरपश्चिममा तीन सय ८८ जनाले ज्यान गुमाइसकेका छन् । यहाँको कैलालीमा एक सय ७८, कञ्चनपुरमा एक सय २८, डडेल्धुरामा २२, बैतडीमा १७, डोटीमा १२, बझाङमा १०, अछाममा नौ, बाजुरामा पाँच र दार्चुलामा तीन जनाले ज्यान गुमाएको निर्देशनालयको तथ्यांकले देखाएको छ ।

त्यसैगरी २७ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशमा १८ लाख एक हजार जनाले खोप लगाएका छन् । प्रदेश सरकारले २२ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य लिए पनि त्यो पूरा हुन सकेको छैन । 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित