आयोजना सुरु भएको २२ वर्षपछि सडक कालोपत्र गरिँदै « Khabarhub

आयोजना सुरु भएको २२ वर्षपछि सडक कालोपत्र गरिँदै


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८/५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो ।

आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो ।

नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आयोजना अलपत्र परेको भन्दै नगरपालिकालाई स्वामित्व दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणमा दबाब दिँदै आएका थिए। नगरप्रमुख श्रेष्ठले भने, ‘काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरेका यस्तो जग्गा एकीकरण आयोजना कहिल्यै समयमै सम्पन्न भएको छैन, यहाँ पनि वर्षौँदेखि आयोजनाको म्याद थप गर्दै आएको थियो, हामी नगरपालिकामा आएपछि दुई वर्ष त यसको स्वामित्व लिने प्रयत्नमै लाग्यौँ, स्वामित्व लिएपछि यहाँका धेरै काम अगाडि बढाएका छौँ ।’

एक हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा अहिलेसम्म स्थायी लालपुर्जा वितरण ७५ प्रतिशत सकिएको र सेल्स प्लट बिक्री ८३ प्रतिशत सकिएको छ । अधिकांश सडक चार मिटरको रहेको यो आयोजनामा विसं २०७२ को भूकम्पपछि मात्रै बाँकी रहेका मूल सडकलाई ११ मिटर बनाइएको थियो ।

नगरपालिकाले आयोजनालाई आफ्नो स्वामित्वमा लिएपछि भने यहाँको चार र ११ मिटरका सबै सडकमा ग्राभेल गर्ने, ढल, खानेपानीको पाइप बिछ्याउने, ११ मिटरका सडकमा फुटपाथ बनाउने काम सम्पन्न भएको छ । आयोजनाभित्र ११ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण, ऐतिहासिक धारा तथा पाटीहरूको परम्परागत शैलीमा निर्माण गर्ने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाले आयोजनामार्फत रु ७४ करोड २७ लाख अनुमानित लागत ठेक्का आह्वान गरेकामा रु ५४ करोड ६५ लाख ५१ हजारको ठेक्का सम्झौतामा आयोजनाभित्रको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । ‘जनप्रतिनिधि आउनेबित्तिकै आयोजना नगरपालिकालाई हस्तान्तरण गरेको भए अहिलेसम्म आयोजनाको सबै काम सम्पन्न गर्न सक्थ्यौँ, दुई वर्ष त आयोजना लिनलाई नै समय लाग्यो, त्यसपछि कोरोना महामारी सुरु भइहाल्यो, त्यसले समस्या पार्‍यो’, नगरप्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले आयोजना स्वामित्वमा लिनेबित्तिकै यहाँका सबै सडक दुई वर्षभित्र कालोपत्र सिध्याउने लक्ष्य लिएका थियौँ, तर कोरोना र ठेकेदारको ढिलाइले २४ प्रतिशतमात्रै सम्पन्न भएको छ ।’

आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्दै उनले सडक कालोपत्र सुरु भएकाले अब नरोकिने र आगामी एक वर्षमा सबै सडक कालोपत्र सम्पन्न गरिने बताए। आयोजनाभित्रका चार मिटरका सडकको बीच-बीचमै विद्युत् प्राधिकरणको पोल रहेकाले कालोपत्रमा समस्या गरेपछि आयोजनाले पोल हटाइदिन पटक-पटक प्राधिकरणलाई ताकेता गर्दा पनि अटेर गरेको आयोजनाका प्रमुख सत्यसुन्दर श्रेष्ठले बताए ।

उनले भने, ‘एकातिर ठेकेदारले समयमै काम सुरु नगर्दा कालोपत्र गर्ने काम ढिलाइ भयो, अर्कातर्फ आयोजनाले निर्माण गरेको चार मिटरको सडकको बीच-बीचमा प्राधिकरणले राखेको विद्युत् पोल हटाउन पनि करोडौँ रुपैयाँ मागेको छ, प्राधिकरणले अर्को समस्या बनाएको छ ।’ उनले आयोजनालाई छिट्टै सम्पन्न गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित