तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या « Khabarhub

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरुले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोना (भाइरस)को महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा असर परेको प्रधानाध्यापक सुरत बानियाले बताए ।

‘१६ जनामध्ये चारजना शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको थियो,’ उनले भने कुण्ड बन्द हुँदा ऋण खोजेर शिक्षकको तलब, भत्ताको जोहो गर्नुपरेको छ । तीन महिनामा दुई महिनाको तलब दिने र एक महिनाको पछि दिने गरी भुक्तानी गरिएको छ ।’

गत वर्षसम्म १० निजी स्रोतका शिक्षक रहेकामा बेनी नगरपालिकाले दरबन्दी मिलानका क्रममा यसपालि प्रावि तहका पाँचजना शिक्षक पठाएको छ । यसअघि प्रावि तहका पाँचजना मात्र स्थायी दरबन्दीका शिक्षक थिए ।

मावि तहका एकजना शिक्षण सहायता अनुदानबाट नियुक्त गरिएका शिक्षक छन् । प्राविको दरबन्दीमा नियुक्त भए पनि निमावि र माविमा पढाउनेलाई भत्ता र निजी स्रोतका शिक्षकलाई भत्ता दिन तातोपानी कुण्डलाई आयस्रोत बनाइएको थियो ।

विसं २०६५ देखि निमावि र विसं २०६९ देखि मावि तह सञ्चालन भएको विद्यालयमा २५६ जना विद्यार्थी छन् । २०७६ साल चैत महिनादेखि बन्द भएको तातोपानी कुण्ड २०७७ साल माघ १ गतेदेखि खोलिएकामा कोरोनाको दोस्रो लहर फैलिएपछि २०७८ वैशाखदेखि बन्द भयो । गत असोज १ गतेदेखि खुलेको कुण्ड पुनः माघ महिनादेखि बन्द छ ।

आर्थिक वर्ष २०७६÷७७ मा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोगबाट रु एक करोड २१ लाख आम्दानी गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७÷७८ मा रु ४० लाख आम्दानी गरेको छ । समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले गत वर्ष छ हजार जनाले स्नान गरेकामा चालु आर्थिक वर्षको हालसम्म जम्मा दुई हजार पाँच सयजना मात्र आएको बताए ।

रु ३५० तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ । बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ ।

प्राकृतिक उपचारस्थलका रुपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिसहरु आउने गर्छन् । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ ।

एक दिनमा दुईपटक दुई÷दुई घन्टाका दरले तातोपानीको कुण्डमा शरीर डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, ब्ल्याङ्केट, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिट्चिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । तातोपानी कुण्डमा पुरुष र महिलाहरुका लागि फरक फरक समय तालिका बनाइएको छ ।

कोठाभित्र स्नान गर्न मिल्ने बाथटब र एक, दुईपटक स्नान गर्नेहरुका लागि थप १०० जना क्षमताको दुईवटा पोखरी पनि छन् । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बजारिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या निको हुन सहयोग पुग्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य पदम बानियाले बताए ।

यस स्थानमा बिरेनुन र गन्धक (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आफैँमा एक प्राकृतिक ‘एन्टिबायोटिक’ भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । दुई सय घरधुरी भएको तातोपानीमा १२ वटा होटल छन् । सबैजसो घरमा घरबास सुविधा छ । होटेलसँगै र व्यापारव्यवसाय पनि धराशयी बनेको होटेल व्यवसायी कुमार केसीले बताउनुभयो । तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसहरुको घुइँचो लाग्ने गर्छ ।

सबै क्षेत्रलाई खुलाउँदै गएको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी खोप लगाएका, कोरोना परीक्षण गरेको रिपोर्ट भएका, ज्वरो, रुघाखोकी नभएकालाई कुण्डमा स्नान गर्न दिइनुपर्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए । ‘निश्चित मापदण्ड बनाएर तातोपानी कुण्ड सञ्चालन गर्न दिनुपर्छ,’ उनले भने, ‘कुण्ड सञ्चालन नहुँदा यहाँको सामाजिक, आर्थिक क्षेत्र प्रभावित भएको छ । कृषकदेखि व्यवसाय, शैक्षिक क्षेत्रमा असर पुगेको छ ।’

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १० : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित