सबै विमान खरिदमा त्रुटि, हतारमा जसरी भए पनि किन्ने मनसायले अभिप्रेरित « Khabarhub

सबै विमान खरिदमा त्रुटि, हतारमा जसरी भए पनि किन्ने मनसायले अभिप्रेरित


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीका चारवटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औंल्याएको छ। समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो।

सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चारवटै एयरबस (दुइटा ए३२० र दुइटा ए३३०) को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले कान्तिपुरलाई बताए। समिति सभापति पवित्रा निरौलालाई बुधबार बुझाइएको प्रतिवेदनमा निगमले २०७१ मा खरिद गरेका दुइटा एयरबस ए३२० (न्यारोबडी) विमान परल मूल्यभन्दा डेढ अर्ब रुपैयाँ बढी तिरेको उल्लेख गरिएको कान्तिपुर दैनिकमा खबर छ।

‘एउटा न्यारोबडीको मूल्य ३९.५ मिलियन डलर (त्यसबेलाको सटही दरअनुसार ४ अर्ब हाराहारी) थियो। तर ४८.५ मिलियन डलर (४ अर्ब ८५ करोड हाराहारी) मा खरिद गरिएको देखिन्छ,’ सांसद राजभण्डारीले भने। त्यसताका निगमको नेतृत्वमा रहेका महाप्रबन्धक मदन खरेलले कर्मचारी सञ्चय कोषबाट १० अर्ब रुपैयाँ ऋण लिई दुइटा न्यारोबडी खरिद गरेका थिए। हाल खरेल निगमको कार्यकारी अध्यक्ष छन्।

वाइडबडी भने महाप्रबन्धक सुगतरत्न कंसाकारको कार्यकालमा ल्याइएको थियो। कंसाकारको कार्यकाल आगामी जेठमा सकिँदै छ। ‘न्यारोबडी जहाज खरिद गर्नुपूर्व पेस गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन र खरिदपछिको व्यवस्थापकीय कार्य, बजार व्यवस्थापन एवं सञ्चालन र मर्मतसम्भारको व्यवस्था हेर्दा हतार–हतारमा जसरी भए पनि खरिद गर्ने भन्ने मनसायले अभिप्रेरित भएजस्तो देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

अपांग भनेर भर्ना अस्वीकार भन्ने शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । उनी दुवै खुट्टा टेक्न सक्दैनन्। अरूको सहारामा हिँड्नुपर्छ। नभए ह्विलचियरमा हिँड्छन्। शरीर भने हृष्टपुष्ट छ। बोली प्रस्ट छ। बोल्न र लेख्न कुनै समस्या छैन। ६ वर्षीय यी रविन परियारलाई पोखराको छोरेपाटनस्थित छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थापाले भने, ‘हामी जिम्मा लिन सक्दैनौं, घरमै पढाउनू।’

रविन नर्सरी पास गरेर एलकेजीमा पुगेपछि अभिभावकले भर्नाका लागि छोरेपाटन मावि पुर्‍याएका थिए। शिक्षक भने सुरक्षाका कारण देखाउँदै जिम्मा लिन नसक्ने भन्दै टकटकिए। ‘छोरो पढाइदिनका लागि बारम्बार स्कुल धाएको छु। स्कुलले भने घरमै राखेर पढाउन भनेको छ,’ रविनका बाबु कुमारले भने, ‘छोरो स्कुलै गएर पढ्छु भन्छ। विद्यालयले जिम्मा लिन सक्दिनँ भनेको छ। पढाइबाट वञ्चित हुने त होइन भन्ने पीर लागेको छ।’ उनी छोरा पढाइदिन अनुरोध गर्दै ६ पटकसम्म स्कुल धाइसकेका छन्। कुमारका अनुसार त्यसक्रममा एक शिक्षिकाले रविनको नाम लिनासाथ ‘समस्या हाम्रो हैन तपाईँको हो, अब यहाँ हुँदैहुँदैन’ भनेर फर्काइन्।

रविनकी दिदी रविना पनि त्यही विद्यालयमा कक्षा ८ मा पढ्छिन्। त्यही भएर रविनलाई छोरेपाटनमै पढाउन चाहन्छन् अभिभावक। रविनले ‘दिदी म कहिलेदेखि स्कुल जाने हो, सोधेर आउनुस् है भनेर दिनहुँ पिरिरहने’ गरेको कुमारले बताए। ‘दिदी विद्यालयबाट आउनासाथ सरले मलाई स्कुल बोलाउनुभएको छ कि छैन भनेर सोध्छ,’ उनले भने, ‘रविना भाइको प्रश्नको उत्तर दिन सक्दिनन्। अक्क न बक्क हुन्छिन्।’ रविनले ‘सबै साथीहरूले कति धेरै पढिसकेहोला म कहिले जाने?’ भन्दै दिनहुँ सोध्ने गरेको उनले बताए।

दुई सेट रेल किन्ने सम्झौता शीर्षकमा छापिएको अर्को समाचारमा नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित