अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा « Khabarhub

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक २५ हजार रुपैयाँ बचाउने गरेका छन् ।

१२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका हुन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउँछन् ।

दीपकका भाइ पनि पढ्दै छन् । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले सुनाए । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ ।

दीपकजस्तै अमरगढी– ७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आएका छन् । विगत ६ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका उनले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थालेका थिए । हाल यसैलाई मुख्य पेसा बनाएका छन् ।

शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक २५ हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ । उनले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताए ।

आठ जनाको समूहमा काम गर्दै आएका उनले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गरेका छन् । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उनको भनाइ छ ।

यसैगरी, अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न छन् । रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किएका उनले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गरेका हुन् ।

करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी छन् । उनले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाव दिएका छन् ।

यी युवाको अनुभवले पढाइ र रोजगारीलाई सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पु¥याउन सक्ने देखाउँछ । स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ११ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित