मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु  « Khabarhub

मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम सुरु गरिएको छ । वर्षायाम सुरु भएसँगै असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडकखण्ड आजबाट सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरेर सडक खुलाउने काम सुरु गरिएको जानकारी दिए । उनका अनुसार सडकखण्डका विभिन्न स्थानमा पहिरो हटाउने तथा सडक मर्मत गर्ने काम सम्पन्न भएर अबको केही दिनमै सञ्चालन हुनेछ । 

मार्तडी–कोल्टी सडकखण्डका विभिन्न स्थानमा लगातारको वर्षाका कारण पहिरो खस्नुका साथै खोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो । 

सडक बन्द हुँदा पूर्वी उत्तरी भेगका चार पालिकासहित छिमेकी हुम्ला, मुगुलगायत जिल्लाका नागरिकले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

सडक अवरुद्ध भएपछि यात्रुले मार्तडीबाट कोल्टी पुग्न कम्तीमा रु दुई हजारसम्म भाडा तिर्नुपर्थ्यो । सडक बन्दकै कारण बीच बाटोमै सवारी रोकिएका छन् भने दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ । 

बडीमालिका नगरपालिका–८ को बाउली खोला र वडा नं ७ को रजातोली खोलामा पुल नहुँदा तथा जिल्ली, रजातोलीलगायतका स्थानमा पटकपटक पहिरो खस्ने समस्याले हरेक वर्ष सडक अवरुद्ध हुँदै आएको छ । 

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले गत वर्ष अनाई खोलामा र यस वर्ष बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पुल बनेपछि केही सहजता आएको भए पनि बाउली खोलाको पुल पाँच वर्षदेखि अधुरै रहेको बताए। उनका अनुसार रजातोलीमा पुल निर्माण भइरहेको छ तर बाउलीमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकले बर्सेनि सास्ती खेप्नुपरेको जानकारी दिए । 

सडक अवरुद्ध हुँदा पूर्वी–उत्तरी भेगका किसानको स्याउ बजारसम्म पुग्नसकेको छैन । स्याउ किसान उज्ज्जल रावतले  कृषि  सडक बन्द हुँदा स्याउ ढुवानी गरेर बजारसम्म पुर्याउन नसकिएको बताए । 

उनका अनुसार धेरै किसानले स्याउ पिठ्युँमा बोकेर सदरमुकाम मार्तडी ल्याउने गरेका छन् भने केहीले कर्णाली करिडोर हुँदै धनगढी र नेपालगन्जसम्म पुर्याउने गरेका छन् । 

करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी–कोल्टी सडकखण्ड अझै पूर्ण रूपमा स्तरोन्नति हुनसकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको सडक कालोपत्र र स्तरोन्नतिमा भएको ढिलाइका कारण हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुँदा नागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ । 

पूर्वाधार विकास कार्यालय अछामकाअनुसार मार्तडी–कोल्टी सडकमा गत आर्थिक वर्षमा ठेकेदार कम्पनीले काम नगर्दा रु २० करोड बजेट फिर्ता भएको थियो ।
 
सडकखण्ड निर्माण तथा स्तरोन्नतिको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले काम नगर्दा गत वर्षमात्र होइन, अघिल्ला वर्षहरूमा पनि ठेकेदारको ढिलासुस्तीका कारण करोडौँ रुपैयाँ बजेट फिर्ता हुँदै आएको छ । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित