म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र « Khabarhub

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र गरिने भएको छ ।

रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउने तालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो । दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र योजना सुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।

‘कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत घुमाउने तालदेखि गाउँपालिका केन्द्र मौवाफाँट जोड्ने ६ किलोमिटर ४०० मिटर सडक कालोपत्र गर्न लागिएको हो’, उनले भने, ‘४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ८० प्रतिशत र पालिकाभित्र निर्माण सम्पन्न भएका र निर्माणाधीन अन्य जलविद्युत् आयोजनाहरूको २० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नतिसहित कालोपत्र योजना अगाडि बढाइएको हो ।’

घुमाउने तालदेखि पिप्ले हुँदै पालिका केन्द्र मौवाफाँट चोकसम्म कालोपत्र र त्यहाँदेखि बुक्ल–बाँधस्थल खण्डको सडक ग्राभेलसहित खोल्साहरूमा कलभर्ट निर्माण गरिने योजना छ । साँघुरो, जीर्ण र कच्ची सडकलाई, घुम्ती सुधार, नाली, पर्खाल तथा ग्यावियन निर्माण गरी फराकिलो पारेर कालोपत्र योजना थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

जलविद्युत् आयोजनाहरूले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नतिका लागि गाउँपालिकाले धेरै प्रयास गरेपछि अहिले आएर सार्थकता पाएको उनको भनाइ छ ।

गाउँपालिकाको संयोजनमा एक वर्षअघि भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधिसमेतको छलफलमा जलविद्युत् आयोजनाले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएअनुसार कालोपत्रको योजना अघि बढेको अध्यक्ष भण्डारीले बताए ।

हाल रघुगङ्गा हाइड्रोपावरले सडक फराकिलो पार्ने, नाली निर्माण र सवबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए । उनका अनुसार राहुघाट जलविद्युत् आयोजनाले कालोपत्र गर्ने कामबाहेकका सम्पूर्ण काम गर्ने र अन्य जलविद्युत् आयोजनाहरूले कालोपत्र गर्ने खर्चको २० प्रतिशत लागत व्यहोर्नेगरी सम्झौता भएको छ । आगामी कात्तिक १५ गतेसम्म सडक स्तरोन्नतिको काम सक्नुपर्ने आयोजनासँग लिखित सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

सडक स्तरोन्नतिसहित कालोपत्र भएपछि रघुगङ्गाका आठवटै वडाका बासिन्दालाई सहज हुने जनाइएको छ । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, २१.३ मेगावाटको ठूलोखोला, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ए’ लगायतका आयोजना सञ्चालनमा छन् । चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ७ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित