ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो « Khabarhub

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ।

तीमध्ये तीन जनाको शव शुक्रबार बाहिर निकालिएको अधिकारीले जनाएका छन्। खराब मौसमका कारण हेलिकप्टरमार्फत खोजी तथा उद्धार कार्य प्रभावित भएको छ।

गिलगिट–बाल्टिस्तान क्षेत्रीय सरकारले फेला परेका तीन शव नेपाली पर्वतारोही पूर्णबहादुर गुरुङ, ओमानी पर्वतारोही नथिरा अहमद र अमेरिकी पर्वतारोही म्यालोरी गेइसको भएको पुष्टि गरेको छ। शवहरू अस्पताल पठाइएको छ।

अधिकारीका अनुसार चौथो शव पनि फेला परेको छ, तर त्यसको पहिचान अझै खुलाइएको छैन। गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेनले खराब मौसमका कारण शुक्रबार पनि उद्धार कार्य प्रभावित भएको बताए ।

अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीका अनुसार ब्रोड पिक आरोहणका क्रममा हिमपहिरो गएपछि पर्वतारोहीहरूको आधार शिविरसँग सम्पर्क विच्छेद भएको थियो।

‘टोली बिहीबारदेखि सम्पर्कविहीन छ,’ उनले भने। खोजी तथा उद्धार कार्यमा पाकिस्तानी सेनाका हेलिकप्टरसमेत परिचालन गरिएको उनले जानकारी दिए ।

अधिकारीका अनुसार बेपत्ता पर्वतारोहीहरूको खोजी शुक्रबार साँझसम्म जारी राखिएको थियो भने शनिबार पुनःसञ्चालन गरिनेछ। आठ हजार ४७ मिटर उचाइको ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित यस क्षेत्रमा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमालमध्ये पाँच वटा रहेका छन्।

अल्पाइन क्लबका अनुसार अभियान टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक चिनियाँ, एक ओमानी, एक अमेरिकी तथा अर्का एक विदेशी पर्वतारोही सहभागी थिए। बेपत्ता भएकामध्ये आफ्ना कुनै नागरिक छन् कि छैनन् भन्नेबारे पुष्टि गरिरहेको चीनले आवश्यक परे सहयोग उपलब्ध गराउने जनाएको छ।
अभियानको नेतृत्व नेपालमा जन्मिएका बेलायती पूर्वसैनिक तथा चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाई)ले गरेका थिए। 

उनले सन् २०१९ मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल १८९ दिनमा आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए । ब्रोड पिक आरोहणका लागि अभियान पाकिस्तानस्थित ट्राभल कम्पनी मुभिङ माउन्टेन्सले आयोजना गरेको थियो। कम्पनीका अनुसार अमेरिकी पर्वतारोही म्यालोरी गेइसका लागि यो पाकिस्तानको आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो आरोहण प्रयास थियो।

उत्तरी पाकिस्तानमा हिमपहिरो र तीव्र रूपमा परिवर्तन हुने मौसमका कारण पर्वतारोहण अभियानहरूमा दुर्घटना हुने घटना बारम्बार हुने गरेका छन्।
 

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  २ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित