ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत « Khabarhub

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई सुरक्षा सुदृढ बनाउन प्याट्रियट हवाई रक्षा प्रणालीको सहउत्पादन तथा उत्पादन इजाजतपत्र प्राप्त हुनेमा आशावाद व्यक्त गरेका छन् ।

उनले रूसविरुद्धको युद्धमा युक्रेनको प्रतिरक्षा क्षमता सुदृढ बनाउन अमेरिकी सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै ठूलो मानवीय तथा सैन्य क्षतिका कारण युद्धको मोर्चामा रूसको रणनीतिक अग्रता कमजोर बन्दै गएको दाबी गरे।

ह्वाइट हाउसमा एक घण्टाभन्दा बढी समयसम्म भएको भेटवार्तापछि फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग निकै सकारात्मक छलफल भएको बताए। उनका अनुसार ट्रम्पले प्याट्रियट हवाई रक्षा प्रणाली उत्पादनका लागि आवश्यक इजाजतपत्र उपलब्ध गराउन सहमति जनाएको छ। त्यसपछि आफूले अमेरिकाका प्रमुख रक्षा उद्योगका प्रतिनिधिसँग भेट गरी सहउत्पादनको सम्भावनाबारे पनि छलफल गरेको जानकारी दिए।

भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत बैठक निकै सफल भएको उल्लेख गर्दै दुवै पक्षबीच धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको जनाए।

युक्रेन–रूस युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भएका कूटनीतिक प्रयास प्रभावकारी हुन नसकिरहेका बेला दुवै पक्षले लामो दूरीका आक्रमण तीव्र बनाएका छन्। यस्तो अवस्थामा युक्रेनले विशेषगरी ब्यालिस्टिक मिसाइल रोक्न सक्ने प्याट्रियट प्रणालीको थप आपूर्ति तथा उत्पादन क्षमता विस्तारलाई प्राथमिकतामा राखेको छ।

भेटअघि एएफपीसँग कुरा गर्दै एक वरिष्ठ युक्रेनी अधिकारीले युक्रेनको प्रमुख आवश्यकता थप एन्टी–ब्यालिस्टिक मिसाइल प्राप्त गर्नु र युद्ध अन्त्यका लागि कूटनीतिक पहललाई पुनर्जीवित गर्नु रहेको बताएका थिए। संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना अप्रिल २०२२ यताकै सबैभन्दा बढी युक्रेनी नागरिकको ज्यान जाने महिना बनेको छ। यसको प्रमुख कारण रूसले ब्यालिस्टिक मिसाइल आक्रमण बढाउनु रहेको बताइएको छ।

गत वर्ष पुनः सत्तामा फर्किएपछि राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी हतियारको प्रत्यक्ष आपूर्ति रोक्दै युरोपेली मुलुकमार्फत खरिद गर्ने नीति अघि बढाएका थिए। यद्यपि अमेरिका अझै पनि युक्रेनको प्रमुख साझेदारका रूपमा खुफिया सूचना तथा स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीमा पहुँच उपलब्ध गराइरहेको छ।

फेब्रुअरी २०२५ मा ह्वाइट हाउसमा भएको तीव्र सार्वजनिक विवादपछि चिसिएको ट्रम्प–जेलेन्स्की सम्बन्ध पछिल्ला महिनामा उल्लेखनीय रूपमा सुधारिएको छ। यसै महिनाको सुरुआतमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीको नेतृत्वको प्रशंसा गर्दै प्याट्रियट मिसाइल उत्पादनसम्बन्धी सहकार्यको प्रस्ताव अघि सार्नुभएको थियो। गत साता जेलेन्स्कीले ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुसनरसँग पनि युक्रेनसम्बन्धी कूटनीतिक प्रक्रिया कसरी पुनः सक्रिय बनाउने भन्ने विषयमा छलफल गरेका थिए।

वासिङ्टन भ्रमणका क्रममा जेलेन्स्की हालै निधन भएका युक्रेन समर्थक रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको स्मृति समारोहमा सहभागी हुनुभएको थियो। त्यसपछि उहाँले रूसमाथि थप प्रतिबन्ध लगाउने द्विदलीय विधेयकसम्बन्धी प्रारम्भिक प्रक्रियागत मतदानअघि अमेरिकी सिनेटरहरूलाई पनि सम्बोधन गर्नुभयो। ग्राहमले लामो समयदेखि उक्त विधेयकका पक्षमा पहल गर्दै आएका थिए। केही प्रावधानप्रति असन्तुष्टि रहे पनि द्विदलीय समर्थनसँगै विधेयक अन्तिम स्वीकृतितर्फ अघि बढेको छ।

यसबीच, युक्रेनले हालै रूसी तेल डिपो, रिफाइनरी तथा इन्धन ढुवानी पूर्वाधारमा ड्रोन आक्रमण तीव्र बनाएको छ। राष्ट्रपति जेलेन्स्कीले रूसले हरेक महिना करिब ३० हजार सैनिक गुमाइरहेको दाबी गर्दै त्यसका बाबजुद राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नदेखिएको टिप्पणी गरे। उनले युद्धको रणनीतिक पहल अब पुटिनको नियन्त्रणमा नरहेको दाबीसमेत गरे।

जेलेन्स्की र ट्रम्पबीचको भेट हुनुअघि युक्रेनले रूसभित्र सयौँ ड्रोन प्रहार गरेको थियो। त्यसको जवाफमा रूसले रातारात युक्रेनमाथि एक सयभन्दा बढी ड्रोन प्रहार गर्नुका साथै ओडेसा बन्दरगाह तथा कृषि निर्यातसँग सम्बन्धित पूर्वाधारमा आक्रमणलाई निरन्तरता दिएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित