यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात « Khabarhub

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– यस वर्ष जिल्लाबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट ३२ करोड पाँच लाख रुपैयाँ भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र २० करोड रुपैयाँका सुन्तला निर्यात भएको छभने मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाट अन्यत्र निर्यात गरिएको हो । 

कार्यालयका अनुसार यस वर्ष तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएर निर्यात भएको हो । कृषकले प्रतिकिलोग्राम ९५ देखि  १२० रुपैयाँसम्म बोटबाटै बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले पर्वतमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन पनि राम्रो भएको र बजार मूल्य पनि राम्रो पाएको जानकारी दिइन् । 

व्यावसायिक रुपमा सुन्तलाखेती गरिरहेका किसान यस वर्ष सुन्तलाको राम्रो मूल्य पाएको भन्दै हर्षित बनेका छन् । गाउँ–गाउँमा सडकको सुविधा पुगेसँगै काठमाडौं, नारायणगढ, पोखरालगायत स्थानबाट व्यापारीले बगानमै आएर सुन्तला लगेका थिए ।

गाउँमा सडक पुगेपछि आफैँले लगेर काठमाडौँ तथा बुटवलका बजारमा बिक्री गर्न पाएको तथा बजारका व्यापारी पनि गाउँमै आएर सुन्तला किनेर लाने गरेको किसानहरूले बताएका हुन् । 

एउटै टोलबाटै रु एक करोडदेखि डेढ करोड रुपैयाँसम्म सुन्तला बिक्री गर्न सफल भएको फलेवास नगरपालिका–११ का कृषक रामप्रसाद गौतमले बताए । 

पछिल्लो सुन्तला कृषकलाई प्रोत्साहन दिनका लागि प्रदेश सरकार र स्थानीय तहहरूले पनि विभिन्न सहयोग गर्दै आएका छन् । किसानलाई विभिन्न स्थलगत तालिम दिनेदेखि, गोडमेल गर्ने, चुन, नीलोतुथो जस्ता विषादी पनि दिने गरिएको छ । 

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता राजमार्ग सञ्चालन हुनाका साथै ग्रामीण क्षेत्रसम्म गुणस्तरीय सडक सञ्जाल फैलिएपछि सुन्तला बजारीकरणमा समेत सहज भएको छ । 

किसानले सुन्तला ग्रेडिङ गरेर जेठी, माइली, कान्छी गरेर बगैँचाबाटै बिक्रीका लागि लाने गरिएको बताएका छन् । यहाँ माघको अन्तिम सातासम्म बोटमै सुन्तला रहने हावापानी भएका कारण पनि सुन्तलाले राम्रो मूल्य पाएको हो । 

यहाँ ४०० भन्दा बढी किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । विशेषगरी जलजला गाउँपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा गरी ८३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । 

पछिल्लो वर्षमा सुन्तला खेतीमा किसानको आकर्षणसमेत बढ्दै गएको छ । रासस

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ३ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित