पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’ « Khabarhub

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नम्बर १ दोवाका ४१ वर्षीय ललित पुन आइतबार करिब १२ घण्टा पहिरोको बीच भागमा फसे ।

चार दिनदेखिको लगातारको झरिपछि आइतबार बिहानैदेखि प्रेमबहादुरको घर वरपर निरन्तर पहिरो खसेर घेरिएको थियो । दिउँसो ३ बजेपछि नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरुले उद्धार गरेर बेनी ल्याएपछि पुनद्वयले नयाँ जीवन पाएको अनुभव सुनाए ।

‘मेरो घर डाँडामा छ, दुईतिर खोल्सा छन्, दायाँ र बायाँ पहिरो खसिरह्यो, तल र माथि भिर भएकाले अन्य जाने बाटो भएन, अब यत्तिकै त होला नि हाम्रो जीवन भन्ने त्रासमा बसिरह्यौँ,’ प्रेमले भने, ‘फोन गरे पनि कतै लाग्दैनथ्यो, छट्पटीमै १२ घण्टा बित्यो, दिउँसो पानी बन्द भयो, आकाश पनि खुल्यो र त्यसपछि हेलिकप्टर आउन थालेपछि बाँच्ने आश पलायो, उद्धार भएपछि नयाँ जीवन पाएको महसुस गरेका छौँ ।’

घरमा एक्लै बस्ने प्रेमबहादुर कहाँ दोवाका ललित खोपारा लेकको भेडागोठबाट घर फर्कने क्रममा बास बसेका थिए । ‘गोठबाट चार महिनापछि घर जान फर्कंदै थिए, रात परेर पाहुना बसेकै ठाउँ पहिरोले घेरिएपछि घरपरिवार र आफन्त भेट्न नपाइने भयो भनेर चिन्तित बनेको थिएँ,’ ललितले भने, ‘दिनभरि छट्पटीमै बित्यो तर दिउँसो उद्धार गरेर बेनी ल्याएपछि कतिबेला परिवारलाई भेटौँ भन्ने लागेको छ तर घरमा फोन पनि लाग्दैन, जाने बाटो पनि नभएर बेनीमै बसेको छु ।’

हेलिकप्टरबाट उद्धार गरेर बेनी ल्याइएका पुनद्वयले प्रशासन कार्यालयमा आएर जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायलाई धन्यवाद दिए । मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा काम गर्ने प्रेमले नेपाली सेनाको घारखोलामा रहेको पोष्टका कमाण्डरलाई फोन गरेर जानकारी गराएका कारण उद्धारमा सजिलो भएको बताए ।

पछिल्लो झरि र आइतबारको पहिरोले अन्नपूूर्ण गाउँपालिका–५ मा पर्ने गिवाङ, पाउद्वार, घिरवाङ, धोस्केखोर, किन्दुलाई प्राकृतिक नाकाबन्दी गरेको छ । पहिरोले सडक र पैदलमार्ग बगाएपछि कोही गोठ त कोही गाउँमै थुनिएका थिए । आइतबार पाउद्वार र गिवाङबाट ७८ जनालाई हेलिकप्टरबाट उद्धार गरेर शिख, घार र बेनीमा ल्याएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

आज पनि पहिरोमा फसेकाहरुको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । अन्नपूूर्ण गाउँपालिका–७ औलाका डिलप्रसाद फगामीले बस्ती माथिबाट निरन्तर पहिरो खसिरहेकाले स्थानीयवासी घर छाडेर स्वास्थ्य चौकीको भवन र पाखाका गोठमा बसेको बताए । करिब एक सय घरपरिवार रहेको औलाका बासिन्दा उद्धारको प्रतीक्षामा रहेका उनको भनाइ छ ।

जिल्लामा पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ भने तीन जना बेपत्ता भएका छन् । अन्नपूूर्ण गाउँपालिकामा चार र मालिका गाउँपालिकामा दुई जनाको शव भेटिएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनी नगरपालिकामा एक र अन्नपूर्ण गाउँपालिकामा दुई जना बेपत्ता भएका बताए ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र भएका, विद्युत्, सञ्चार, सडक अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन, सुरक्षाकर्मी पुग्न, उद्धार, बेपत्ताको खोजीमा ढिलाइ भएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताए ।

चार दिनको लगातारको झरीका कारण बाढी पहिरोले म्याग्दीमा विद्युत्, सडक र सञ्चार सुविधा अवरुद्ध बनेको छ । बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित