वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो « Khabarhub

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ ।

गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध बनेको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर आइतबार अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए ।

‘पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ,’ उनले भने, ‘बेनीदेखि तातोपानीसम्म आठ किलोमिटर सडकमा आइतबार साँझदेखि यातायात सुचारु भएको छ ।’

सोमबार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेत, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा खण्डखण्डमा त्यहाँ उपलब्ध भएका उपकरणहरु परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफैँ स्थलगत रुपमा खटिएको सांसद जुग्जालीले बताए ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्ना मातहत रहेका सडकहरुलाई मर्मत गरेर जति सक्दो छिटो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा कटान गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

थप क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन सङ्घीय सरकार मातहतको सडक विभागसँग समन्वय गरिएको प्रजिअ गैरेले बताए । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्कविच्छेद भएको छ ।

कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । मुस्ताङबाट स्याउ र च्याङग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ । सोह्र श्राद्धमा कागबेनीमा हिन्दू धर्मावलम्बीहरुले पितृ तर्पण दिने गर्छन् । शरद्याम पर्यटकको याम पनि हो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : २३ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका