चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव « Khabarhub

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । भू–जलको सतह घट्दै जाँदा ह्यान्डपम्प, बोरिङ तथा प्राकृतिक मुहान सुक्न थालेपछि स्थानीयवासी दैनिक उपभोगका लागि पानी जुटाउन सङ्घर्ष गर्न बाध्य भएका छन् ।

वेदकोट नगरपालिकाको धरमपुर, बगुन, बैतडा, च्वाँगगढ फाँटा, मल्ला बैतडा, सुनार टोल, मल्लो बगुन तथा आसपासका बस्ती, शुक्लाफाँटा नगरपालिकाका धारापानी, बेलडाँडी, मणिकाधाम, बर्रेगडा तथा दक्षिणी क्षेत्रका बस्ती, साथै कृष्णपुर र भीमदत्त नगरपालिकाका चुरे क्षेत्र आसपासका बस्तीमा खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

वेदकोट नगरपालिका–४ का राजुराम भुलका अनुसार केही महिनाअघिसम्म पर्याप्त पानी दिने ह्यान्डपम्प र बोरिङको पानीको सतह घटेपछि कतिपयमा पानी आउन छाडेको छ भने कतिपयमा अत्यन्तै कम मात्रामा पानी आउने गरेको छ ।

‘चुरे क्षेत्रबाट बग्ने खोला, नदी र साना मुहानको पानी पनि घट्दै गएको छ,’ उनले भने, ‘खानेपानी जुटाउनै कठिन भएको छ भने पशुचौपायालाई पानी खुवाउन पनि समस्या परेको छ ।’
 
उनका अनुसार पानीको अभावले सरसफाइमा समेत असर परेको छ । जसका कारण पानीजन्य तथा सङ्क्रामक रोग फैलिने जोखिम बढेको छ । विद्युत् आपूर्ति अनियमित हुँदा सिँचाइका लागि जडान गरिएका विद्युतीय मोटर प्रभावकारी रूपमा सञ्चालन हुन  नसकेको उनको गुनासो रहेको छ । 

शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीको बस्ती धारापानीका साइमले धामीले खोलाको पानी नै मुख्य स्रोत भएकाले पानीको सतह घट्दै जाँदा चिन्ता बढेको बताए। 

‘खोलामा अहिले निकै कम पानी बगिरहेको छ,’ उनले भने, ‘छिट्टै वर्षा नभए केही दिनमै खोला सुक्ने अवस्था आउन सक्छ, त्यसपछि खानेपानीका लागि टाढासम्म जानुपर्ने बाध्यता हुन्छ ।’

खानेपानीको अभावसँगै कृषि क्षेत्र पनि प्रभावित भएको छ । धान रोप्ने मुख्य समयमा पर्याप्त वर्षा नहुँदा किसानहरू चिन्तित भएका छन् । शुक्लाफाँटा नगरपालिका–३ का किसान प्रकाश चौधरीले बोरिङबाट सिँचाइ गरेर रोपाइँ गरिए पनि अहिले त्यसबाट समेत पर्याप्त पानी नपरेको बताए।

‘बोरिङको पानी घट्दै गएको छ,’ उनले भने, ‘यही अवस्था रहे बोरिङ सुक्ने डर छ, रोपिएका धान पानीको अभावमा ओइलिन थालेका छन् भने रोपाइँ हुन नसकेका खेतका बेर्ना पनि बिग्रिने अवस्थामा पुगेका छन् ।’ उनका अनुसार रोपाइँ गरेका धेरै खेतमा सिँचाइको अभावमा चिरा परिसकेको छ ।

वातावरणको क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएका पुनाराम चौधरीका अनुसार चुरे क्षेत्रका पानीका स्रोत बर्सेनि घट्दै जानु, वन विनाश, अनियमित वर्षा, जलवायु परिवर्तनको प्रभाव र अत्यधिक गर्मीका कारण समस्या झन् जटिल बन्दै गएको हो । वर्षायाम सुरु भइसके पनि पर्याप्त वर्षा नहुँदा भू–जल पुनःभरण हुन नसकेको उनको भनाइ छ ।

खानेपानीको अभाव हुँदा सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, बिरामी र अपाङ्गता भएका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ८ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित