धान फल्ने खेलतमा कागतीखेती « Khabarhub

धान फल्ने खेलतमा कागतीखेती


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ । नामसँगै दाम पनि प्राप्त हुन्छ । यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई । जिल्लामा उनले नमुना किसानको पहिचान बनाएका छन् । बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गरेका छन् ।

सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा ६०० कागतीका बिरुवा हुर्काइएका छन् । चार वर्षअघि रोपिएका बिरुवाले फल दिन थालेका छन् । फार्ममा ३०० बिजु र ३०० कलमी बिरुवा रोपिएका छन् । कलमी बिरुवाले गत वर्षदेखि उत्पादन दिन थालेका थिए । गत वर्ष ५० किलोग्राम कागती बिक्री भएको फार्ममा यस वर्ष उत्पादन बढ्ने सापकोटाको अपेक्षा छ ।

कागतीखेतीको व्यवस्थापन सापकोटाले गर्दै आएका छन् । वैदेशिक रोजगारीमा रहेका जग्गाधनी डिलाराम कँडेल र पूर्वजग्गा धनी प्रकाश तुलाचन पनि खेतीमा साझेदार छन् । जापानमा रहेका तुलाचनको योजनाअनुसार कागतीखेती सुरु गरिएको सापकोटाले बताए ।

फार्ममा उत्पादित कागती प्रशोधन गरी जापान निर्यात गर्ने लक्ष्य राखिएको छ । यसअघि उक्त खेतमा धान, मकै, कोदो र गहुँखेती गरिन्थ्यो । खाद्यान्न बालीको विकल्पमा कागतीखेती सुरु गरिएको हो ।

‘साँझबिहान र बिदाको समयमा बगैँचामा बिताउँछु । गोडमेल, काँटछाँट र मलजलका लागि कामदार परिचालन गर्ने गरेको छु’, सापकोटाले भने, ‘फलफूल खेतीप्रति आकर्षण बढाउने र यसमा सम्भावना छ भन्ने देखाउने उद्देश्यले कागतीखेती गरेको हुँ ।’

सापकोटा २०६३ सालदेखि व्यावसायिक सुन्तला खेतीमा पनि संलग्न छन् । उनले सुन्तला बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी हुने बताए । जिल्लाकै ठूलो कागती फार्म भएको उनको दाबी छ । सेवा निवृत्त भएपछि व्यावसायिक फलफूल खेतीलाई थप विस्तार गर्ने सापकोटाको योजना छ ।

सापकोटाको प्रेरणाबाट बञ्जाका किसानले पनि व्यावसायिक सुन्तलाखेती विस्तार गर्न थालेका छन् । स्थानीय बासिन्दासमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीसले सापकोटाले किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सुन्तला बगैँचा व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएका छन् ।

‘कृष्णलाल सरले युवा र किसानलाई सुन्तलाजात फलफूल खेतीतर्फ आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ’, श्रीसले भने, ‘मैले पनि राजनीति र सामाजिक कामबाट बचेको समय सुन्तलाखेती, बाख्रापालन र मौरीपालनमा लगाएको छु ।’ श्रीस अन्तरिम व्यवस्थापिका संसद् तथा संविधानसभाको पहिलो कार्यकालका सदस्य थिए ।

मङ्गला गाउँपालिकाका कृषि अधिकृत विमल रोकामगरका अनुसार नेपालमा समुद्री सतहबाट एक सयदेखि एक हजार ४०० मिटर उचाइसम्मका क्षेत्रमा कागतीखेती गर्न सकिन्छ । दैनिक आठदेखि १० घण्टासम्म घाम लाग्ने, वार्षिक ८०० देखि एक हजार मिलिमिटरसम्म वर्षा हुने र १० देखि ३५ डिग्री सेल्सियस तापक्रम रहने स्थान यसका लागि उपयुक्त मानिन्छ ।

पानी नजम्ने, हल्का दोमट र प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटो कागतीखेतीका लागि उपयुक्त हुन्छ । कागती बालीमा जङ्गली जनावरबाट क्षति हुने जोखिम पनि तुलनात्मक रूपमा कम हुन्छ । नेपालमा सुनकागती–१, सुनकागती–२ र तेह्रथुम स्थानीय जातका कागतीखेती गरिँदै आएको कृषि अधिकृत रोकामगरले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ८ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित