भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ « Khabarhub

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण चाडपर्वका बेलामा पनि डीएनए रिपोर्ट कुरेर बसेको बताए ।

‘बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन’, उनले भने, ‘यो वर्षको दसैँ डीएनए परीक्षण रिपोर्टको पखाइमा बिताउन बाध्य भएका छौँ ।’ सास वा लास केही फेला नपर्दा आफूहरू सामाजिक संस्कार गर्न नपाएको रोकायले बताए ।

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत अनलालका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न अनि गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएको दुई महिना पुग्दा पनि कुनै अत्तोपत्तो नलाग्दा दुःखमाथि दुःख थपिएको अनलालले बताए ।

बुढेशकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ । सासको आश मारिसके पनि लाससमेत फेला नपर्दा साह्रै चिन्ता लागेको अनलालले बताए ।

‘हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ’, अनलालले भने, ‘डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र मनभित्रको असह्य पीडाबीच विछोडको भारी थाम्न विवश छौँ ।’

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाएपछि बाढीपछि बेपत्ता दाजु, भाउजु र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको उनको भनाइ छ ।

अनलालले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका थिए । डीएनएको रिपोर्टसमेत नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कार गर्न नसकेको बताउँदै उनले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिका बारेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्नेमा जोड दिए ।

‘सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ’, अनलालले भने, ‘हामी डीएनए रिपोर्टको प्रतीक्षामा छौँ, सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ ।’

रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा परी बेपत्ता भएपछि १६ वर्षीय सुभास नेपाली, ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमाबुवा फर्किने बाटो हेरिरहन्छन् । डीएनए रिपोर्टको प्रतीक्षा गरेर बसेको सुभासले बताए ।

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले सबैलाई सान्त्वना दिँदै र सम्झाउँदै आएको बताए । उनले बेपत्ताको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजना जस्ता बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग भइरहेको बताए ।

भोटेकोशी बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौँस्थित अस्पतालमा र बाँकेमा रहेका १६ जनाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको छ । डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ जना हालसम्म बेपत्ता छन् । तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ६ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित