जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ « Khabarhub

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो परम्परागत विधिबाट काठको कोइला बनाउँदै त्यसलाई जीवित राखेका छन् ।

इमो फेल्डमरले धिपधिप बलिरहेको कोइलालाई माटोले बनाइएको अग्लो ढिस्कोभित्र राख्दै कोइला उत्पादनको प्रक्रिया सुरु गरे । ढिस्कोभित्र ‘बिच’ जातको काठलाई खाँदेर राखिन्छ, जुन हप्तौँसम्म बिस्तारै बल्दै अन्ततः कोइलामा परिणत हुन्छ ।

पूर्वी जर्मनीको हार्ज क्षेत्रमा यो परम्परा सयौँ वर्षदेखि चल्दै आएको छ । ‘हामी परम्परागत माटोको भट्टीमा कोइला बनाउँदैछौँ, ठीक त्यसरी नै जसरी एक हजार वर्षअघि हार्ज पहाडमा गरिन्थ्यो,’ फेल्डमरले हालै एसोसिएटेड प्रेस (एपी)लाई बताए ।

फेल्डमर र उनका भाइ साशाले आफ्ना बुबाबाट ‘हार्जकोलेरेई स्टेमबर्गहाउस’ नामक कोइला उत्पादन व्यवसाय सम्हालेका हुन् । ढिस्कोभित्र बलिरहेको काठको दिनरात निगरानी गर्नुपर्ने भएकाले उनीहरूले केही कामदारसमेत राखेका छन् । उचित निगरानी नभए काठ पूर्ण रूपमा जलेर कोइलाको सट्टा खरानीमा परिणत हुन सक्छ ।

माटोले ढाकेपछि ‘बिच’ काठमा रहेका हावा छिर्ने स–साना प्वालमार्फत माथिदेखि तलसम्म बिस्तारै दहन हुन्छ । दहन पूरा भएपछि कोइलाबाट माटो हटाइन्छ र चिसिएपछि बिक्रीका लागि १० किलोग्रामका बोरामा प्याक गरिन्छ ।

हार्ज क्षेत्रमा खनिज उत्खननका लागि काठको कोइला कुनै समय अत्यावश्यक थियो । चाँदी, सिसा, तामा र जस्ता धातु निकाल्न खनिजलाई उच्च तापक्रममा भट्टीमा पगाल्नुपर्थ्यो, जसका लागि कोइलाबाट प्राप्त हुने उच्च ताप आवश्यक हुन्थ्यो ।

शताब्दीयौँसम्म हार्ज क्षेत्रका सयौँ परिवारले कोइला बनाउने कामबाट जीविकोपार्जन गरे । अहिले भने उक्त क्षेत्रमा खनिज उत्खनन हुँदैन र जर्मनीमा परम्परागत विधिबाट कोइला बनाउने व्यवसायी पनि निकै कम छन् ।

फेल्डमर दाजुभाइले उत्पादन गर्ने कोइला मुख्यतः घरमा बार्बेक्युका लागि प्रयोग गर्ने ग्राहकलाई बिक्री गर्छन् । उनीहरूले वार्षिक करिब ४० टन कोइला उत्पादन गर्छन् ।

फेल्डमरका अनुसार उनीहरूको कोइला शुद्ध बिच काठबाट बनाइन्छ । जर्मनीका हार्डवेयर पसलमा बिक्री हुने अधिकांश कोइला भने आयातित हुने र विभिन्न प्रकारका काठ तथा अन्य सामग्री प्रयोग गरेर उत्पादन गरिने उनको दाबी छ ।

वार्षिक उत्पादनबाट मात्र व्यवसाय सञ्चालन गर्न कठिन हुने भएकाले दाजुभाइले कोइला उत्पादनको इतिहास झल्काउने सङ्ग्रहालय, सानो पसल र रेस्टुरेन्टसमेत सञ्चालन गरेका छन् । रेस्टुरेन्टमा स्थानीय परिकारका साथै आफ्नै उत्पादनको बर्च कोइलामा ग्रिल गरिएको स्टेकलगायतका खाना पाइन्छ ।

जर्मनीमा परम्परागत कोइला उत्पादनको कला लोप हुने अवस्थामा पुगे पनि फेल्डमरले आफ्नो परिवारले यसलाई आगामी पुस्तासम्म निरन्तरता दिने आशा व्यक्त गरेका छन् ।

‘हामी आशा गर्छौँ कि हाम्रा बच्चाले पनि यो व्यवसाय सम्हाल्नेछन्, यसको सञ्चालन जारी रहनेछ र यहाँको परम्परागत कोइला बनाउने शिल्प सुरक्षित रहनेछ,’ उनले भने । रासस

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित