खोटाङको केपिलासगढीमा ‘मह सिकार महोत्सव’ « Khabarhub

खोटाङको केपिलासगढीमा ‘मह सिकार महोत्सव’


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार आकर्षण बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।

स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगरलगायत स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका साहसिक तरिकाले गरिन लागेको भीर मौरीको मह सिकार अवलोकनका साथै स्थानीय साम्पाङ राईहरुको संस्कार, संस्कृतिको अध्ययन एवं अनुसन्धान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

पर्या–पर्यटनसँग जोडेर प्रदेश सरकारसँगैको सहकार्यमा गाउँपालिकाले पहिलोपटक आयोजना गरेको महोत्सवमा जिल्लास्थित सबै स्थानीय तहका जनप्रतिनिधि तथा मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईलगायत पर्यटन व्यवसायीको सहभागिता छ । फेदीको लेकाली क्षेत्रमा पर्ने तेरावामा आयोजना गरिएको महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीयले त्रिपाल टाँगेर खाने तथा बस्ने व्यवस्था मिलाएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए ।

‘हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा महोत्सव आयोजना गरिएको हो’, उनले भने ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीरलगायत भीरहरुमा वर्षौंअघिदेखि भीर मौरी बस्दै आएका छन् ।

फेदीका स्थानीय बासिन्दाले उभौलीको समयमा जेठ–असार तथा उधौलीको समयमा कात्तिक–मङ्सिर महिनागरी वर्षमा दुईचोटी भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा एउटै भीरबाट कम्तीमा पनि पाँच लाखदेखि सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।

फेदीमा पुस्तौँदेखि किरात संस्कारका रुपमा भीर मौरीको मह सिकार भइरहेको मह सिकारी हस्तराम राईले बताए ।

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्‍याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा परम्परागत रुपमा भीर मौरीको मह सिकार गरिन्छ  । पर्‍याङका माध्यमबाट चढ्ने, सुताका माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय मह सिकारीको भाषामा भीरमा गएर मह निकाल्नेलाई ‘पर्‍याङ्गे’ भनिन्छ भने सुताको माध्यमबाट पर्‍याङ, दाबिलो, जोतारो, डालोजस्ता आवश्यक सामग्री मह निकाल्ने पर्‍याङेसम्म पुर्‍याउनेलाई सुतारे भनिन्छ । पर्‍याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य व्यक्तिलाई सहयोगी भन्ने गरिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायत क्षेत्रमा बसोबास गर्दै आएका गाउँभरिका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवका रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङ्कङ, सिङ्गापुर लगायतका देशहरुमा निर्यात हुने गरेको छ ।

फेदीका किरात राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कार तथा संस्कृतिसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात् पितृ (दिवङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादका रुपमा ग्रहण गर्ने गरेका छन् ।

भीर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ  । धेरै खाँदा मात लाग्ने विशेषता भएको भीर मौरीको मह हाडजोर्नी, नसासम्बन्धी समस्या, युरिक एसिड, प्रेसरलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ८ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित