विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर « Khabarhub

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर


७ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो ।

लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिकाका–२ डिकुवाका देशवीर राई र हलेसी तुवाचुङ नगरपालिकाका–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नम्बर १० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका छन् ।

वृद्ध दम्पत्तिमात्र रहेका डिकुवाका देशवीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आएको थियो । लामो समयदेखि असुरक्षित कटेरोमा बस्दै आएका वृद्ध दम्पतीका लागि नगरपालिकाले नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

मङ्गलटारका चामे दमाईं र भया दपाईं दाजुबहिनीको पीडा उस्तै रहेको थियो । अपाङ्गता भएका दमाईं दाजुबहिनीका लागि पनि नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

अर्खौलेमा जन्मिएका टेकबहादुरको परिवार अघिल्लो वर्षको भदौमा आफ्नो गाउँ फर्किएका थिए । करिब १२ वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँमा बस्दै आएका टेकबहादुरको परिवार दिक्तेल बस्दै आएको समयमा १२ वर्षीया छोरी मृत भेटिएपछि गाउँ फर्केर अर्खौलेमा अरुको घरमा आश्रय लिएर बस्दै आएका थिए ।

गाउँ फर्किएको समयमा सार्की परिवारलाई नगरपालिकाले खाद्यान्न र केही नगदसमेत सहयोग गरेको थियो । सार्कीको परिवार गाउँमै बसेर जीविकोपार्जन गर्न चाहे पनि घर नहुँदा समस्यामा परेका कारण नगरपालिकाले नयाँ घर निर्माण गरिदिएको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तीन परिवारलाई भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिइन् ।

‘नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितता गर्न तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका छौँ । आफ्नो घर अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ’, प्रमुख राईले भने, ‘राजधानी काठमाडौँ तथा तराईको विभिन्न जिल्लामा अस्थायी रुपमा बसोबास गर्दै आएको अवस्थामा घरटहरा हटाइएपछि विस्थापित नगरवासीलाई घर निर्माण गरिदिने निर्णय गरेका छौँ । नगरबाहिर बसेको अवस्थामा सरकारले घरटहरा भत्काइदिएपछि विस्थापित बनेका तीन परिवारले पुनःस्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएका छन् ।’

विस्थापित परिवारहरु आफ्नो नगरपालिका फर्किएर स्थायी रुपमा बसोवास गर्न चाहेको खण्डमा उनीहरुका लागि पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ । पुनःस्थापित हुन चाहने घरपरिवारका लागि घर निर्माण गर्न उनीहरुको नाममा जग्गा भने हुनुपर्ने बताइएको छ । नगरपालिकाको १३६औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ७ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित