दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भनिन्- औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् ।

आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् ।

नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन् । 

आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो । ‘विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो सङ्ख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो । त्यसैले नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउनेतर्फ विद्यार्थी र विश्वविद्यालय दुवै केन्द्रित हुन आवश्यक छ’, प्रधानमन्त्री कार्कीले भनिन् । 

उनले परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता भइसकेको बताइन् । स्थापनाकालदेखि नै पोखरा विश्वविद्यालयले व्यवस्थापन, विज्ञानलगायतका क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै उनले प्रशंसा गरिन् । 

‘अब गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै विश्व बजारको माग अनि प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति र ज्ञानको उत्पादनमा विशेष मेहनत गर्नुपर्ने देखिन्छ’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘दीक्षार्थीले प्राप्त गर्नुभएको प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, यो नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी तिनका दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको द्योतक पनि हो । त्यसमा सफल बन्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले आजको युगमा युवा नै राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता रहेको भन्दै त्यसको जग आजैबाट मजबुत बनाउनुपर्ने धारणा राखिन् । उनले भदौ २३ र २४ गते जेन-जी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएका बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस्ता विषयमा हामी कहाँ र किन चुक्यौँ भन्ने आत्ममूल्याङ्कन आवश्यक छ । भविष्यप्रति सकारात्मक सोच, काँधमा जिम्मेवारीबोध र हृदयमा निष्ठा तथा इमानदारी लिएर अघि बढ्न सके अपेक्षित परिवर्तन सम्भव छ ।’

उनले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुन गइरहेको निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएकाले यस लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबैलाई आह्वान गरिन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ३ : ३३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र