फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

१९औँ शताब्दीको ऐतिहासिक टाउन हल ध्वस्त, १ हजार प्रहरी घाइते


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा फ्रान्समा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोले देशवासीलाई शान्ति र सुव्यवस्था कायम राख्न आह्वान गरेका छन्।

शनिबार आयोजित विशाल प्रदर्शन भिडन्त, तोडफोड र लुटपाटमा परिणत हुनुका साथै आइतबार पनि राजधानी पेरिससहितका सहरहरूमा झडप जारी रहेपछि राष्ट्रपतिको यो भनाइ आएको हो। एलिसी प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोले प्रदर्शनकारीलाई स्थिति थप नबढाउन चेतावनी दिँदै भने, “हामी सबैले यतिवेला आक्रोश र लज्जाबोध गरिरहेका छौँ।”

इन्धनको मूल्यवृद्धि, जीवनयापनको बढ्दो लागत र विद्यालयलगायत सार्वजनिक सेवाको दुरावस्थाविरुद्ध देशैभर करिब ५ लाख ५० हजार नागरिक सडकमा उत्रिएका थिए। म्याक्रोले नागरिकका “जायज माग” र “सार्वजनिक सम्पत्ति तोडफोड तथा लुटपाट गर्ने तत्त्व” बीच स्पष्ट फरक छुट्ट्याउनुपर्ने बताए।

फ्रान्सको गृह मन्त्रालयका अनुसार हालसम्म करिब २ हजार ४ सय जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। राष्ट्रपति म्याक्रोले पछिल्लो हिंसाको बचाउ कसैले गर्न नसक्ने उल्लेख गर्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

पेरिस, मार्सेली र अन्य प्रमुख सहरहरूमा कालो पोसाक र नकावधारी समूहहरूले सवारी साधन र भवनहरूमा आगजनी गरेका छन्। लिमोजिस सहरमा रहेको १९औँ शताब्दीको ऐतिहासिक टाउन हलमा शनिबार उपद्रवीहरूले लगाएको आगोका कारण त्यसको घडीको टावर र छाना ढलेर भवन ध्वस्त भएको छ।

प्रदर्शन उग्र बन्दै जाँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, वाटर क्यानन र स्टन ग्रेनेड प्रयोग गरेको छ। शनिबारको झडपमा परी करिब १ हजार प्रहरी अधिकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ, जसमध्ये ७ जनाको अवस्था गम्भीर छ।

गत महिना विद्यार्थीहरूबाट सुरु भएको यो आन्दोलनमा शनिबार ट्रेड युनियन र सरकारविरोधी समूहहरू जोडिएपछि प्रदर्शनले उग्र रूप लिएको हो। आगामी अप्रिलमा हुने निर्वाचनको पूर्वसन्ध्यामा देखिएको यो प्रदर्शनले फ्रान्सको राजनीतिक विभाजनलाई अझ सतहमा ल्याइदिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ६ : ४४ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र