ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’ « Khabarhub

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ । 

जलवायु परिवर्तनको असरबाट नेपालमात्र नभई विश्व नै प्रभावित भइरहेका बेला भएको सम्मेलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट समेत निकै चासोका साथ हेरिएको छ । गत वर्षकै भदौ अन्तिममा गरिन लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ जेन-जी आन्दोलनका कारण स्थगित गरिएको थियो । 

जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको हिमाली जिल्ला मुस्ताङमा उक्त सम्मेलन गर्नैपर्छ भन्ने जिल्लावासी र घरपझोङ पालिकाका जनप्रतिनिधिको एकै मतका कारण सम्मेलन सम्भव भएको हो । 

सम्मेलन जलवायु संकटका मुद्दा उठान गर्ने मञ्चमात्रै थिएन, यसले मुस्ताङमा एकैसाथ सातै प्रदेशका सयौँ स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा उतार्‍यो ।

जलवायु परिवर्तनबाट भएको असरसम्बन्धी मुद्दालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तर सम्मै पुर्‍याउने लक्ष्यसहित गाउँपालिकाले सङ्घीय मामिला मन्त्रालयको समन्वयमा ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेकामा ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका पदाधिकारी सम्मेलनमा उपस्थित भई ऊर्जा प्रदान गरे।

मुलुककै धार्मिक, सामाजिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मुस्ताङ आफैँ पनि सामरिक महत्त्वपूर्ण भूभागका रूपमा रहिआएको छ । सम्मेलनमा आउने पाहुनाको आवास र खानपान व्यवस्थापन निकै चुनौती भए पनि यहाँका होटलद्वारा बिर्सनै नसकिने न्यानो आतित्थ्य प्रदान गरियो ।

सम्मेलनमा सहभागी हुने अधिकांशले प्रसिद्ध मुक्तिनाथको दर्शनका साथै मुस्ताङको स्याउ बगैँचा र यहाँको भौगोलिक सुन्दरतामा रम्ने अवसर प्राप्त गरे। 

सम्मेलन उद्घाटनअघि पालिका भवनबाट स्थानीय रहनसहन, वेशभूषा र सांस्कृतिक चहलपहल झल्कने झाँकीसहितको प्रभातफेरीसहितको र्‍याली सम्मेलनस्थल कभर्डहल पुगेको थियो ।

लगत्तै प्रमुख अतिथि सङ्घीय  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्‌घाटन गर्दै  जलवायु चुनौतीको सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। 

त्यस अवसरमा सम्मेलन सफलताका लागि प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरियो । यसअघि गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सम्मेलन आयोजना गर्नुपर्ने कारणबारे सहभागीलाई जानकारी गराएका थिए ।

सम्मेलनमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीलगायत केही प्रदेश, जिल्ला तह र स्थानीय तहका जनप्रतिनिधिले जलवायुबाट नेपालमा परेको असरबारे आफ्ना अनुभव र अनुभूति सुनाए। उद्‌घाटन सत्रलगत्तै सुरु भएको प्राविधिक सत्रमा विषयविज्ञका रूपमा सहसचिव हरिप्रसाद शर्मा, प्रा डा विनोद दवाडी, विज्ञ डा कृष्णचन्द्र देवकोटा र सहसचिव गणेशप्रसाद भट्टले जलवायु परिवर्तनले पारेको असरसम्वन्धी विषयगत कार्यपत्र प्रस्तुत गरे।

त्यसपछि भएको समूहगत-सत्र छलफलमा पालिका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालको हिमाली क्षेत्रमात्र नभई स्वास्थ्य, सामाजिक र सांस्कृतिक क्षेत्रमा परेको असरबारे गहन विश्लेषण गरे।

सम्मेलनको अन्त्यमा आज घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को साझा घोषणपत्र जारी हुने कार्यसूची रहेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १२ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित