भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग « Khabarhub

भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

रोजगारीको सिलसिलामा चार महिनाअघि मेघालय गएका हलेसी तुवाचुङ–५ दुर्छिमका ५० वर्षीय रत्न राईको कोइलाखानीमा काम गर्दैगर्दा गत माघ २२ गते विष्फोटमा परी ज्यान गएको थियो । उनको परिवारलाई नगरपालिकाले ५१ हजार रुपैयाँ सहयोग गरेको हो । गत असोज ९ गते मेघालय गएका रत्नले ज्यान गुमाएपछि घरमै गएर मृतककी श्रीमती मिना राई (तामाङ)लाई रकम उपलब्ध गराएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

दुर्छिमस्थित जोरकाफलका राई दम्पतीको दुई छोरा र दुई छोरी छन् । ज्यालामजदुरी कमाएको पैसाले घर व्यवहार धान्दै आएका रत्नको मृत्यु भएपछि परिवारका अन्य सदस्यको विचल्ली भएको छ ।

उक्त घटनामा खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरले पनि ज्यान गुमाएका थिए । उनीहरुको भारतमै अन्त्येष्टि गरिएको छ । विष्फोटमा ज्यान गुमाउने सालघारीका पूर्णिराम र सुरेन्द्र दाजुभाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए ।

विष्फोटमा गम्भीर घाइते भएका भञ्ज्याङका नरबहादुरको उपचारको क्रममा गत माघ २३ गते सिलोङस्थित निलग्रीन हस्पिटलमा मृत्यु भएको थियो ।

यसैबीच, विष्फोटमा गम्भीर घाइते भएका नेपालका चार जनाको सिलोङस्थित निलग्रीन हस्पिटलमै उपचार भइरहेको घटनास्थलमा पुगेका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए । उनका अनुसार बराहपोखरी–१ सालघारीका ४७ वर्षीय कर्णबहादुर खपाङ्गी मगर र भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा तथा छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका ललितबहादुर लुङ्गेली मगरको हाल उपचार भइरहेको छ ।

रोजगारीको सिलसिलामा गत पुस ३ गते घरबाट हिँडेर भारतको मेघालय पुगेका तीन जनाको एउटै घटनामा ज्यान गएपछि बराहपोखरी गाउँपालिका शोकमा डुबेको छ । घटनाका मृतक परिवारलाई बराहपोखरी गाउँपालिकाले प्रतिव्यक्ति ५० हजार रपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए ।

कोइलाखानीमा भएको विष्फोटपछि सँगै काम गर्दै आएका सोही गाउँपालिका–१ वालम्पाका ताराबल मगरले फोनमार्फत घटनाको बारेमा जानकारी गराएका थिए । मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनामध्ये ताराबल मात्रै सकुशल छन् ।

मेघालयको कोइलाखानीमा भएको घटनापछि मृतकका परिवारलाई राहत तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियानसमेत सुरु गरिएको स्थानीय इन्द्र लिमेल मगरले जानकारी दिए । (रासस)

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ८ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित