किम्बु बिरुवाको माग बढ्दो « Khabarhub

किम्बु बिरुवाको माग बढ्दो


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशमखेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ ।

हाल किम्बुका बुटाको वैकल्पिक प्रयोग बढ्न थालेको छ । अहिले किम्बुका बुटा व्यावसायिक होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा सजावटी बिरुवाका रूपमा प्रयोग हुन थालेका छन् भने पशुपालन गर्ने किसानहरूले यसलाई घाँसका रूपमा समेत उपयोग गर्न थालेपछि यसको माग बढ्दो छ ।

चितवनको भण्डारास्थित व्यावसायिक किट विकास फार्ममा उत्पादित किम्बुका बिरुवा देशका विभिन्न जिल्लामा यिनै प्रयोजनका लागि पठाइने गरिएको छ । कार्यालय प्रमुख सुरुची त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले एक लाख ८० हजारभन्दा बढी किम्बुका बिरुवा उत्पादन गरेको छ ।

ती बिरुवा किसानलाई प्रतिविरुवा पाँचका दरले बिक्री गरिँदै आएको उनले जानकारी दिए । यस वर्ष मधेस तथा पहाडी जिल्लाबाट समेत किम्बु बिरुवाको माग आएको उनले बताए । पछिल्लो समय रेशम किरापालनका लागि समेत बिरुवाको माग पुनः बढ्न थालेको छ । ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लाबाट किम्बु बिरुवाको माग आएको उनले जानकारी दिए ।

त्यसैगरी, पर्यटन क्षेत्रबाट पनि किम्बु बिरुवाको माग बढ्दो रहेको छ । होटल तथा रिसोर्टहरूले छिटो हुर्कने, राम्रो छहारी दिने र फल लाग्दा चराचुरुङ्गी आकर्षित हुने भएकाले वातावरणीय सौन्दर्यका लागि किम्बु रोप्ने चलन बढेको उनले बताए ।

किम्बुको फलको पनि बजारमा उत्तिकै माग रहेको छ । यसको फलमा औषधीय गुण पाइने र वाइन, जाम तथा जुस बनाउन प्रयोग गर्न सकिने भएकाले केही उद्योगहरूले समेत फलको माग गर्ने गरेका छन् । उनका अनुसार किम्बु फलले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्ने भएकाले स्वास्थ्यका हिसाबले समेत उपयोगी मानिन्छ ।

उनले नेपालमा पाइने बेरी प्रजातिमध्ये किम्बु पनि एक रहेको बताए । उनले किसानहरूले यसलाई पशुका लागि घाँसको रूपमा समेत प्रयोग गर्ने गरेको बताए । विशेषगरी अन्य घाँस अभाव हुने समयमा यसको महत्व अझ बढ्ने गरेको छ । हाल फार्मबाट कान्वा–२ जातको किम्बु बिरुवा उत्पादन गरी वितरण गरिँदै आएको छ । यो बिरुवा गमलादेखि खेतसम्म सजिलै रोप्न सकिने प्रमुख त्रिपाठीले बताए ।

हिउँदको समयमा बिरुवा कटिङ सुरु गरी रोपाइँ गरिन्छ र जेठ महिनादेखि वितरण गरिने गरिएको छ । वर्षायाममा सार्न उपयुक्त हुने भए पनि पानीको स्रोत उपलब्ध भए अन्य समयमा पनि किम्बु रोप्न सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ९ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित