बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो « Khabarhub

बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो


१७ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ ।

बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन् । काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ को डाइभर्सन बाढीले बगाएको हो ।

डाइभर्सन बगेपछि आज बिहानदेखि पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो । बिहान ११ बजेसम्ममा चारआलीको ‘एनिमल अन्डरपास’ बाहेक कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत सम्भार गरेर यातायात चल्न सक्ने बनाइएको उनले जानकारी दिए।

‘एनिमल अन्डरपासको डाइभर्सनमा धमाधम मर्मत सम्भारको काम भइरहेको छ’, उनले भने, ‘काँकडभिट्टा र धुलाबारीको डाइभर्सन मर्मत सम्भार गरिसकिएको छ, डाइभर्सन माथिबाटै गाडी चल्न थालिसकेका छन् ।’ 

कालीखोलामा पुरानो पुल भत्काएर पक्की पुल निर्माण भइरहेको थियो । ढुकुरे खोलाको पुरानो कल्भर्टलाई विस्थापित गर्दै नयाँ कल्भर्ट बनिरहेको थियो । चारआलीको जङ्गल क्षेत्रमा वन्यजन्तु ओहोरदोहोरका लागि उपयुक्त हुने ‘एनिमल अन्डरपास’ निर्माणाधीन अवस्थामा रहेको छ।

तीनै स्थानमा साँघुरो डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो । राजमार्गमा यातायात अवरुद्ध भएपछि ट्राफिक प्रहरीले राजमार्गसँग जोडिएका सहायक सडकमा घुमाएर लामो तथा छोटो दुरीको यातायात सञ्चालनको व्यवस्था मिलाएको थियो । यसवर्ष मनसुनी वर्षा अनुमान गरिएभन्दा १५ दिन अगावै सुरु भएकाले पूर्वयोजना अनुरूप डाइभर्सनलाई सुदृढ बनाउन नभ्याइएको आयोजना प्रमुख पन्त बताउँछन्।

‘बाढीले आवतजावतमा अवरोध नपुर्‍याओस् भनेर निर्माणको ठेक्का लिएको कम्पनीलाई छिटो कल्भर्टको काम सक्नुप¥यो र पुल निर्माणाधीन रहेको स्थानमा बलियो डाइभर्सन बनाउन पर्यो भनेर धेरै पहिलेदेखि हामीले निर्देशन र परिपत्र दिँदै आएका थियौँ’, उनले भने, ‘तर, सोचेभन्दा अगावै मनसुन सुरु भयो, बाढीको पानी थेग्न सक्ने डाइभर्सन बनाउने योजना पूरा नगर्दै ठूलो पानी परिहाल्यो ।’

उनले आजै सबैतिर सहज यातायात सञ्चालन हुने गरी डाइभर्सनको मर्मत सम्भार गरिने र आगामी १५ दिनभित्र सबै कल्भर्टमाथि दुई लेनबाट गाडी गुड्ने वातावरण बनाइने बताए । कालीखोला र भालुखोलाको पुरानो पक्की पुल भत्काइएको हुँदा त्यस स्थानमा नयाँ पुल बनाइसक्न समय लाग्ने देखिएको छ । ती स्थानमा तीन तहको ह्यूमपाइप हालेर जुनसुकै बाढी थेग्नसक्ने बलियो डाइभर्सन बनाइने उनको भनाइ छ ।

एसियाली विकास बैंकको सहयोगमा १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वीखण्डको स्तरोन्नतिको कार्य भइरहेको छ । निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले लिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती भएका कारण यसपालिको वर्खामा राजमार्ग क्षेत्रमै बाढीजन्य विपद् निम्तिने एक साता अघि नै चेतावनी दिए । 

काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख पन्तले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्‍यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गर्ने तयारी रहेको बताए । 
 

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  १२ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित