रामेछापको भटौली खोलाको पक्की पुल जोखिममा « Khabarhub

रामेछापको भटौली खोलाको पक्की पुल जोखिममा


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- रामेछाप सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने र जिल्लालाई काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गरेपछि जाेखिममा परेकाे छ ।

सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौंसँग जोड्ने वैकल्पिक सडक खण्डमा पर्ने भटौली खोलाको पक्की पुल बाढीको कटानबाट उच्च जोखिममा परेको हो । जिल्ला सदरमुकाम रहको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पिलरमा भटौली खोलाको बाढी सिधै ठोक्किन थालेपछि पुल जोखिम मा पर्दै गएको हो ।

खाँडादेवी–४ का स्थानीय खेमबहादुर खत्रीका अनुसार खोलाको बहावले पुलको पकरबासपट्टिको पिलरमा कटान गर्दै लगेको छ । खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएकोले, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठुलो क्षति पुग्न सक्ने खत्रीले बताए ।

उनले पुलको सुरक्षाका लागि खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको भए पनि कतैबाट हालसम्म सुनुवाइ नभएको बताए ।

वर्षायाम सुरु भएसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठुलो क्षति पुग्ने जोखिम उच्च रहेको स्थानीय अक्कलबहादुर माझी बताउँछन् ।

वर्षाको बेला बाहुन्चुरा, पिङ्गखुरी र गागलको माथिल्लो भेगमा बढी पानी पर्ने गरेको र ती ठाउँमा परको पानीका कारण दैनिक जसो यस खोलामा बाढी आउने गरेकाले पनि यसलाई चाँडै नै क्षति हुनबाट बचाउन आवश्यक रहेको मन्थली नगरपालिका–७ का वडाध्यक्ष भुवनहरी प्रसाईँले बताए ।

उनले भने, ‘यो मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्दछ, मैले पनि नगर कार्यपालिकाको बैठकमा कुरा राखेको छु, दुवै पालिका मिलेर समस्या समाधान गर्न जरुरी छ ।’ खाँडादेवी गाउँपालिका–४ का अध्यक्ष कृष्ण पौडेलले पनि यसबारेमा सम्बन्धित निकायलाई यसअघि नै जानकारी गराइसकिएको बताए ।

यो खोलाको पक्की पुल तीनवटा गाउँपालिका जाने प्रमुख र काठमाडौं जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ ।

गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा र रामेछाप जाने आउने सबै सवारीसाधनले यही बाटो प्रयोग गरेका थिए । अहिले पनि खुर्कोटको बेलीब्रिजबाट १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन वारपार गर्न पाउँदैनन्, यही पुल भएर आवतजावत गर्नुपर्छ । त्यसैले पनि यस पुलमा क्षति भयाे भने यस क्षेत्रको आवागमन नै अवरुद्ध हुने मन्थली नगरपालिका–७ का स्थानीय बलवहादुर तामाङ बताउँछन् । उनले भने, ‘यो पुल क्षति हुनबाट चाँडै जोगाउन सकिएन भने पछि पछुताउनु सिवाय केही हुँदैन ।’

उक्त पुललाई क्षति हुनबाट जोगाउन चालु आवमा खर्च गर्ने गरी कार्यपालिकाबाट कुनै बजेट विनियोजन नभएको तर त्यस्तो समस्या भइहाल्यो भने विपद् कोषबाट तत्काल मर्मत सम्भार गर्न सकिने मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए । (रासस)

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ४९ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम