अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर « Khabarhub

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा कुल ३७ हजारभन्दा बढी उजुरीहरूको अध्ययन, छानबिन र कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले वर्षभर १३७ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गर्दै झण्डै ६ अर्ब रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।

आयोगले साउन ८ र ९ गते वार्षिक समीक्षा कार्यक्रम आयोजना गरी उजुरी व्यवस्थापनदेखि अनुसन्धान, अभियोजन र समग्र कामकारबाहीको समिक्षा प्रस्तुत गरेको हो। प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका आयुक्त, सचिव, अनुसन्धान अधिकृत, शाखा प्रमुखहरू तथा प्रदेश र जिल्लाबाट कर्मचारीहरूको भर्चुअल सहभागिता थियो।

उक्त वर्षमा आयोगमा विभिन्न माध्यमबाट २८,५९७ नयाँ उजुरी प्राप्त भए भने अघिल्लो वर्षबाट बाँकी ८,४२९ उजुरी थपिएपछि कुल उजुरी संख्या ३७,०२६ पुगेको हो। तीमध्ये सबैभन्दा धेरै – ५३.८४ प्रतिशत- उजुरी स्थानीय तहसँग सम्बन्धित थिए, संघीय सरकारविरुद्ध ३३.६९ प्रतिशत र प्रदेश सरकारविरुद्ध १२.४७ प्रतिशत उजुरी परेको आयोगले जनाएको छ।

उजुरीहरू आयोगको वेबसाइट, लिखित निवेदन, इमेल, हुलाक सेवा, मोबाइल एप, भाइबर, समाचार स्रोत र ‘हेलो सरकार’जस्ता माध्यमबाट दर्ता भएका थिए। प्राप्त उजुरीमध्ये ८० प्रतिशतभन्दा बढीको छानबिन गरिएकामा धेरैजसो उजुरीहरू फर्छ्यौट गरिएको जनाइएको छ।

मुद्दा दायर र कारबाही
अख्तियारले वर्षभर ८१ वटा बैठक बसेर १३७ मुद्दा विशेष अदालतमा दायर गर्‍यो। ती मुद्दामा ७५३ जनालाई प्रतिवादी बनाइएको छ। घुस र रिश्वतसम्बन्धी मुद्दा सबैभन्दा बढी- ३७ वटा रहेका छन्। साथै, गैरकानुनी लाभ, नक्कली शैक्षिक प्रमाणपत्र, सार्वजनिक सम्पत्तिको हानि, गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणका मुद्दाहरू पनि उल्लेखनीय छन्।

स्टिङ अपरेसनमार्फत रंगेहात पक्राउ परेका ३३ जनाबाट ५५ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएको छ। चालु वर्षमा विशेष अदालतबाट ३९५ मुद्दामा फैसला भएकोमा ६७.२३ प्रतिशत मुद्दामा कसुर प्रमाणित भएको आयोगको प्रतिवेदनमा उल्लेख छ। साथै, सर्वोच्च अदालतमा २५१ मुद्दामा पुनरावेदन र पाँच मुद्दामा पुनरावलोकन माग गरिएको छ।

जनचेतना कार्यक्रम र खर्च
भ्रष्टाचारविरुद्धको जनचेतना अभिवृद्धिका लागि आयोगले तीनवटा प्रदेशस्तरीय, १३ जिल्लास्तरीय र १४३ पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। तर, आयोगको चालु खर्च ६९.२२ प्रतिशत र पुँजीगत खर्च ६७.८३ प्रतिशत मात्र भएको छ।

हाई प्रोफाइल अनुसन्धान
अख्तियारले वर्षभर केही हाई प्रोफाइल मुद्दाहरूको अनुसन्धान गरी मुद्दा दायर गरेको छ। विशेष गरी पतञ्जली योगपिठको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित उच्चपदस्थ राजनीतिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा लगाइएको छ।

कार्यक्रम समापनमा प्रमुख आयुक्त राईले आयोगको पाँचौं रणनीतिक योजना अन्तर्गत उजुरी व्यवस्थापन, अनुसन्धान र अभियोजन प्रक्रियालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कानुनी र नीतिगत सुधारमार्फत् आयोगको भूमिका थप मजबुत बनाइने स्पष्ट पारे।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित