मनसुन सङ्कट : पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो « Khabarhub

मनसुन सङ्कट : पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहोर– मनसुनको नयाँ चरण सुरु हुनुअघि प्रान्तका विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएसँगै पाकिस्तानको पञ्जाब प्रान्तलाई उच्च सतर्कतामा राखिएको डनले आइतबार रिपोर्ट गरेको छ ।

पञ्जाब सरकारले शनिबार सतलज नदी किनारका हजारौँ मानिसलाई उद्धार गरेको छ । उद्धार ११२२ का प्रवक्ता फारुख अहमदलाई उद्धृत गर्दै डनले प्रान्तका धेरै बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी नागरिकलाई निकालिएको बताएको छ ।

यो सङ्कटको केन्द्र सतलज नदी भएको बताइएको छ । त्यहाँ अधिकारीहरूले उद्धार र निकासी प्रयासलाई प्राथमिकता दिइरहेका छन् ।

नयाँ मनसुन चरण नजिकिँदै गर्दा आगामी ९६ घण्टा पाकिस्तानको पञ्जाबका लागि निकै महत्त्वपूर्ण हुने चेतावनी दिइएको छ । 

यसैबीच, यस मनसुनले गिलगिट–बाल्टिस्तानमा समेत भारी वर्षा र आकस्मिक बाढी ल्याउने अपेक्षा गरिएको छ । त्यहाँ यसअघि नै लगातार बाढीले जनजीवन अस्तव्यस्त बनाएको डनले उल्लेख गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा बाँचेका मानिसहरूले पिउने पानी र सिँचाइका लागि पानीको अभावले गम्भीर अभावको सामना गर्नुपरेको बताइएको छ ।

पाकिस्तान मानव अधिकार आयोगका गिलगिट–बाल्टिस्तान संयोजक इसरारुद्दीन इसरारलाई उद्धृत गर्दै डनले घिसर जिल्लाको तालिदास गाउँमा हालै आएको हिमताल फुट्दा आएको बाढीका कारण करिब तीन सय ३० परिवार अर्थात् तीन हजारभन्दा बढी मानिस आन्तरिक विस्थापित (आइडिपी) भएको उल्लेख गरेको छ ।

उनका अनुसार यो घटनामा भएको विस्थापन सन् २०१० को अट्टाबाद प्रकोपपछि दोस्रो ठूलो हो ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयका अनुसार गम्भीर मौसमको प्रभाव सेप्टेम्बरको सुरुआतसम्म जारी रहने सम्भावना छ । यसले थप बाढी, भूस्खलन र बालीको क्षतिको जोखिम बढाएको छ ।

पाकिस्तानले पछिल्ला वर्षहरूमा मनसुनका कारण व्यापक विनाश झेलेको छ । सन् २०२२ मा आएको अभूतपूर्व बाढीमा एक हजार सात सयभन्दा बढी मानिसले ज्यान गुमाएका थिए, लाखौँ नागरिक विस्थापित भएका थिए र करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको थियो ।

सामान्यतया पाकिस्तानले जुनदेखि सेप्टेम्बरसम्म मनसुनका कारण बाढीको सामना गर्छ । बाढीका कारण विशेष गरी घना जनसङ्ख्या भएका वा निकासी व्यवस्था कमजोर रहेका क्षेत्रमा घातक भूस्खलन, पूर्वाधारको नोक्सानी र ठूलो सङ्ख्यामा मानिसहरूको विस्थापन हुने गर्दछ । रासस

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ४ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित