भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित « Khabarhub

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ । नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिए । लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अब गति लिने पूर्वमन्त्री बुढाले बताए। 

भेरी करिडोर सडक दुई सय १७ किलोमिटर हुने जनाइएको छ । त्यसमध्ये जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म एक सय १८ किलोमिटर छ । हाल जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नति भइरहेको छ । अब तल्लुबाट दुनै सम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु–त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।

बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए। पूर्वमन्त्री बुढाका अनुसार केही दिनमा पुल निर्माणका लागिसमेत बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ । हाल बेलिब्रिज भएको स्थानमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ ।

त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरको दुनै–लासिक्याप खण्डको काम निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ । ठेक्काको म्याद सकिन एक वर्ष बाँकी हुँदा पनि १५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ ।  उक्त सडक खण्ड निर्माण गर्न सूर्य–श्रेया–शान्तिदेवी जेभी काठमाडौँले रु १३ करोड ४२ लाखमा ठेक्का लिएको थियो । 

लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गत जाजरकोट सदरमुकामदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडक ट्र्याक खोल्ने काम  विसं २०६५ मा सुरु गरेको थियो । 

दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कूल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्डको पुल निर्माणको ठेक्का क्याराभान हिराचन जेभीले लिए पनि काम सुरु गरेको छैन । जेभीले विसं २०७७ माघ २ गते जाजरकोटको नलगाड खोला, झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो । 

त्यस्तै सोही कम्पनीले २०७७ माघ २ मै मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको ठेक्का लिएको थियो । ठेक्का लिने तर काम नगर्नाले भेरी करिडोरमा पक्की पुल निर्माण हुनसकेका छैनन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ४ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित