बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा क्यान्सरको टाइप पत्ता लगाउने मेसिन सञ्चालनमा  « Khabarhub

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा क्यान्सरको टाइप पत्ता लगाउने मेसिन सञ्चालनमा 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आईएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ।

स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना ९टिस्यु० भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ ।

उनले भने, ‘बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ । अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ ।’ यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत समस्या थिए। अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ। उनले भने, ‘यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्नेछ ।’

यो सेवा सुरु भएपछि अब नेपालमै ‘टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राका क्यान्सरको सटिक परीक्षण सम्भव भएको छ । उनका अनुसार यो मेसिन क्यान्सरको प्रकार पत्ता लगाउन प्रयोग गरिन्छ । विशेषगरी टिस्यु (मासुको नमूना) मा कुन प्रोटिनहरू उपस्थित छन् भन्ने कुरा पत्ता लगाउन यसले सहयोग पुर्‍याउँछ ।

यो मेसिनले टिस्यु स्लाइडहरूमा इम्युनोहिस्टोक्यामेस्ट्री (आईएचसी) परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ । क्यान्सरको केवल पुष्टि भएर मात्र पुग्दैन, कस्तो क्यान्सर हो भनेर थाहा पाएपछि मात्र कुन थेरापी दिने भनेर निर्णय गर्न सकिन्छ जस्तै: केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति हो भनेर जानकारी हुन्छ ।

अस्पताल आफैले मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको डा पौडेलले जानकारी दिए। अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले प्रविधिले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग पुग्ने र बिरामी र आफन्तको मानसिक र आर्थिक बोझ पनि कम हुने बताए । उनले भने, ‘यस किसिमको प्रविधिको थालनीले अस्पताललाई प्रविधिमैत्री राष्ट्रिय क्यान्सर उपचार केन्द्रका रूपमा सुदृढ बनाउनेछ ।’ 

अस्पतालले आगामी दिनमा थप यस्ता आधुनिक प्रविधि थप्दै क्यान्सर उपचार तथा अनुसन्धान सेवा अझ प्रभावकारी बनाउने योजना अघि सारेको निर्देशक डा. पौडेलले बताए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित