सामुदायिक विद्यालयमा मुख्यमन्त्री सिंहको अनुगमन « Khabarhub

सामुदायिक विद्यालयमा मुख्यमन्त्री सिंहको अनुगमन

छात्रवृत्ति र खाजा रकमको लोभमा निजी विद्यालयका विद्यार्थीको नामांकन सरकारीमा


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम –  विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको गुनासो चुलिएका बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय अनुगमन सुरु गरेका छन् । 

मुख्यमन्त्री सिंहले मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालय अनुगमन गरी विद्यामान बेथिति तथा विसङ्गति औँल्याउँदै पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूसँग समस्या समाधानका लागि विमर्श गरेका छन् ।

मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा हँसपुर नगरपालिका वडा नम्बर २ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा विद्यालयमा नामांकन गराएका विद्यार्थीमध्ये कतिपय अन्य निजी विद्यालयमा अध्ययनरत रहेका तर, तिनका नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा उपलब्ध गराइएको फेला पारेका छन् । 

विद्यार्थी सङ्ख्याका आधारमा सामुदायिक विद्यालयलाई सरकारले केही सुविधा उपलब्ध गराउने हुँदा कागजमा विद्यार्थी सङ्ख्या बढी देखिने तर वास्तविकता त्यस्तो नहुने समस्या मधेशका कयौँ विद्यालयमा रहँदै आएको छ । 

थोरै आयस्ता भएका अभिभावक समेतले आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउने चलन, सामुदायिक विद्यालयमा शिक्षक अभाव र भएका शिक्षकको समेत नियमित नपढाउने प्रवृत्ति, अपूर्ण पूर्वाधार, शिक्षण तथा खेलकुद सामग्री व्यवस्थापन गर्न विद्यालय प्रशासनको कम चासोका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्नामा कमी आएको छ । तर, विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त रहेको देखाउन समेत निजी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीको पुन:नामाङ्कन गराउने गरिन्छ । 

शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी कायम गरेर विद्यालयले छात्रवृत्ति, खाजा लगायत विभिन्न छ-सातवटा शीर्षकमा सरकारबाट प्राप्त रकम कुम्ल्याउने दाउप्रपञ्च गरिरहेको दुर्भाग्यपूर्ण भएको बताए । उनले नक्कली विद्यार्थीको विवरण  विद्यालय शिक्षा व्यवस्थाका सूचना प्रणालीमा राखेर रकम निकासा गराउनु सीधा भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्न शिक्षक तथा कर्मचारीलाई भ्रष्टाचार मुद्दामा कारबाही गरिनुपर्ने उल्लेख गरे । नक्कली विद्यार्थी कायम हुँदा अगतिलो विद्यालयमा समेत पूर्वाधार विकास, थप शिक्षक दरबन्दी सहितको स्तरोन्नति आदिमा सघाउ पुग्ने गर्दछ । यसबाट सरकारको साधनस्रोत भने दुरुपयोग भइरहेको छ । 

मुख्यमन्त्री सिंहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएको भन्दै त्यसलाई नियन्त्रण तथा नियमन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न अनुगमनमा सामेल प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिएका छन् । 

यसैगरी मुख्यमन्त्री सिंहले आजै हँसपुर नगरपालिका वडा नम्बर ८ झटियाहीस्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको समेत अनुगमन गरेका छन् । अनुगमनका क्रममा सो विद्यालयमा शौचालय नरहेको पाइएको छ । 

विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिकस्तरको विद्यालयमा शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै मुख्यमन्त्री सिंहले विद्यालयमा शौचालय व्यवस्थापनका लागि तत्काल पहल गर्न अनुगमनमा सँगै रहेका हँसपुर नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराए ।
हँसपुर नगरपालिकाकी उपप्रमुख मण्डलले सो विद्यालयमा शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आर्थिक वर्षमा शौचालय निर्माण भइसक्ने जानकारी दिइन् । 

अनुगमन सुरु गर्नुभन्दा एक महिना अगाडि मधेश प्रदेशको शिक्षा तथा सँस्कृति मन्त्रालयले प्रदेशका १ सय ३६ वटा पालिकालाई पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन अत्यावश्यक सल्लाह दिएको थियो ।

भिडियाेमा पनि हेर्नुहाेस्

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित