ठिमीमा जेसुम यात्रा: संस्कृति र सम्पदा उजागर गर्ने प्रयास « Khabarhub

ठिमीमा जेसुम यात्रा: संस्कृति र सम्पदा उजागर गर्ने प्रयास


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – ‘जेसुम यात्रा’ स्थानीय सम्पदा र संस्कृृतिलाई सृजनाका माध्यमबाट प्रवर्द्धन गर्ने र समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले सुरु भएको एक अभियान हो । स्रष्टाहरूको एक स्वतन्त्र समूहको अगुवाइमा सात वर्षअघि यो अभियान सुरु भएको हो ।

पदयात्रा, स्थानीय सम्पदा अवलोकन अनि सृजना । चित्रकारले क्यानभासमा, साहित्यकारहरूले शब्दमा अनि रङ्गकर्मीहरूले अभिनयमा आफ्ना बुझाई प्रस्तुत गर्नु यस अभियानको विशेषता हो । पछिल्लो श्रृङ्खलाअन्तर्गत भक्तपुरस्थित सम्पदा सहर मध्यपुरथिमिमा आज यस्तै गरियो ।

बिहानै मध्यपुरथिमिस्थित शङ्खधर साख्वा चोकमा भेला भएका साहित्यकार, लेखक, पत्रकार र चित्रकारहरूको समूहले थिमि उकालो हुँदै मल्लकालीन बालकुमारी मन्दिर, लोकेश्वर, लायकु दरबार, गङ्गा महारानीको पालामा निर्मित निगूपुखू (दुई पोखरी), दिगु भैरव, सिद्धिकाली, चापाचो (पोटरी स्क्वायर) अवलोकन ग¥यो ।

त्यसपछि गार्चा हुँदै नगदेशको तिकीझ्याः (सुनको आँखी झ्याल), सिद्धिगणेश, बोडेस्थित पलेस्वाँ पुखू (कमल पोखरी), पाँचो गणेश (जिब्रो छेड्ने जात्राको उद्गमस्थल) लगायतको सम्पदा क्षेत्र अवलोकन गर्दै स्रष्टाहरूको समूह कुमारी मन्दिर पार्क पुगेको थियो ।

मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ र राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले थिमिको सम्पदा, संस्कृति, जात्रा परम्परा र इतिहासबारे स्रष्टाहरूलाई प्रष्ट्याउँदै पथप्रदर्शकको भूमिका निर्वाह गरेका थिए ।

कुमारी मन्दिर पार्कमा पुगेपछि चित्रकारहरूले क्यानभास रङ्ग्याउन थाले भने साहित्यकारहरूले कविता कोर्न थाले । “बाहिर देखिने थिमि अर्कै, भित्र देखिने थिमि अर्कै रहेछ”, जेसुम यात्राका परिकल्पनाकार एवं संस्थापक संयोजक कवि अनिता लामाले भन्नुभयो, “थिमिभित्र पसेपछि इतिहासको कुनै कालखण्डमा पसेको अनुभुति भयो ।”

बूढानीलकण्ठ नगरपालिकाका उप्रप्रमुखसमेत रहेका साहित्यकार लामाले व्यस्तताका बाबजुद समाज, राष्ट्र र राष्ट्रिय संस्कृतिलाई चिन्न जेसुम यात्रालाई निरन्तरता दिइरहेको बताए।

बौद्ध र नेवार सभ्यता मिसाएर कविता लेखेकी उनलाई पछ्याउँदै यात्राका संस्थापकसमेत रहेकाप्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थिमिको सांस्कृतिक सम्पदामाथि अनुभव मिसाउँदै कविता सुनाए । यही क्रमलाई वरिष्ठ साहित्यकार स्नेह सायमी हुँदै कवि रामगोपाल आशुतोष, अस्मिता मानन्धर, फूलमान वल, घनश्याम खड्का, दिपेन्द्र बनेपाली, रजनी मिला, ज्ञानराम श्रेष्ठ र सातपटकसम्म निरन्तर जिब्रो छेडेका संस्कृतिप्रेमी बुद्धिकृष्ण वागाः श्रेष्ठ लगायतले निरन्तरता दिए ।

यस्तै, चित्रकारहरू चन्द्रा श्रेष्ठ, दिपेन्द्रमान बनेपाली, सरितादेवी मण्डललगायतले थिमिको सम्पदालाई क्यानभासमा उतारिन् । चन्द्राले मन्दिरलाई पृष्ठभूमिमा राखेर कुची चलाउनुभयो भने दिपेन्द्रमानले स्नेह सायमीको कविता ‘चश्मा र आँखा’ लाई थिमिको सम्पदासित जोडेर दृश्यमा उतारे ।

सरितादेवी आफैँमा मिथिला चित्रकार हुन्हुन्छ, यसपटक भने उनले मिथिला र थिमिको जनजीवन र कृषि परम्परालाई मिथिला इफेक्ट दिएर क्यानभास सजाए । ‘गजब रहेछ जेसुमको सौन्दर्य’ कविता सुन्दै चित्र अवलोकन गरिसकेपछि मध्यपुरथिमिका पूर्वनगरप्रमुख श्रेष्ठले भने, “यो अभियानबारे धेरैपटक सुनेको थिएँ, आज सहभागी हुन पाएँ । यस्तो सकारात्मक अभियानलाई सबैले सघाउनुपर्छ । हामी आजका सबै सृजना समेटेर किताब निकाल्न तयार छौँ ।”

अभियानका संस्थापकमध्ये एक बस्नेतले काभ्रेको धुलिखेलस्थित हजार सिँढीबाट सुरु भएको अभियान नगरकोट, धनकुटा, बूढानीलकण्ठ, चन्द्रागिरि, अनन्त लिङ्गेश्वरलगायत विभिन्न थलो हुँदै थिमि आइपुगेको जानकारी दिए। “मौलिक संस्कृति, कला, साहित्य प्रवर्द्धन गर्दै समाजमा फैलाउन थालिएको नकरात्मक सोच हटाई नेपाली राष्ट्रिय संस्कृति निर्माणको यो एउटा पाइला हो”, उनले भने ।

यात्रामा स्रष्टा लक्ष्मी माली, शशि लुमुम्बू, अनन्त वाग्ले, जयन्ती स्पन्दन, कल्पना श्रेष्ठ, नन्दु उप्रेती, रजनी मिला, सुन्दर शिल्पकार, रामदत्त मिश्र, डम्बर मिश्र, सङ्गीतकार अशोक राई, वसन्त मुकारुङलगायत सहभागी थिए।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित