राजावादीलाई ओलीको प्रश्न – तीनकुने वितण्डाको ‘माईबाप’ को ? « Khabarhub

राजावादीलाई ओलीको प्रश्न – तीनकुने वितण्डाको ‘माईबाप’ को ?

‘राजा ल्याउन या भाग्न भन्छन्‌, बुढो मान्छे कहाँ भाग्ने ?’


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका छन्‌ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चैत १५ गतेको हिंसात्मक प्रदर्शनबारे राजतन्त्र पुनःस्थापना पक्षधर सांसद्‌हरूलाई प्रश्न गरेका हुन्‌ । ओली संसद्‌मा सरकारका नीति तथा कार्यक्रममाथि सांसद्‌ले गरेका प्रश्नको जवाफ दिँदै थिए ।

‘आह्वान कल्ले गरेको थियो चैत्र १५ गतेको ? त्यस वितण्डाको आयोजक को थियो ? अहिले कोही माईबाप नै निस्किँदैन त्यो दिनको घटनाको । बेवारिस !’, ओलीले भने, ‘जन्माउने को हो ? मातापिता को हुन्‌ ? पत्तो छैन अहिले त ! तपाईं हो भन्दा ‘म त होइन’ भन्छ…तपाईं हो भन्दा म त होइन…। कोही पनि होइन भन्छ, सबै निर्दोष छ । के ती घर आफैँ दशा लागेर जले । के त्यो जडीबुटीको औषधी कारखाना दिक्क लागेर अब आफैँ जल्छु भनेर आत्मदाह गरेको हो त्यल्ले ? त्यत्रो गरेको छ त ! मान्छे को हो ?’

राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देजसम्बन्धी संविधानको धारा २७० को व्यवस्थालाई उधृत गर्दै केही सांसद्‌ले सरकारबारे गरेको आलोचनालाई पनि ओलीले खण्डन गरे ।

ओलीले भने, ‘धारा २७० ले अधिकार दिन्छ नै !तब त हामी यहाँ संसद्‌मा छौँ । अधिकार पाइएन र ? विचार व्यक्त गर्न पाइन्छ । थोत्रो पनि विचार व्यक्त गर्न पाइन्छ । त्यसका लागि म धेरै भन्न चाहन्नँ । अब यो चाहिँ २७० ले भन्दैन, दिँदैन । यत्तिमात्रै कुरा भनेँ ।’

संविधानको धारा २७० मा २७० को उपधारा (१) मा ‘२६९ बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ’ उल्लेख छ ।

सरकारले यो धारा विपरीत आफूहरूको गतिविधिमा बल प्रयोग गरेको आरोप राजावादीले लगाउने गरेका छन्‌ ।

‘बुढो भइसक्यौँ, कुद्न सक्दैनौँ, कहाँ भाग्ने?

ओलीले ‘राजतन्त्र ल्याउने सम्झौता गर्न या भाग्न’ भन्ने राजतन्त्र पक्षधरलाई पनि व्यङ्ग्यको झटारो हाने । आफूहरू बुढो भइसकेको, बरू भाग्न सुझाउने सांसद्‌ नै जवान भएकाले विचार गर्न उनले सुझाए ।

‘एउटा पार्टीको माननीयज्यूले, त्यो पनि एउटा पार्टीको अध्यक्षले नै भनेको सुनेँ, ‘कि राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार होऊ !’ कहाँ भाग्ने…कहाँ भाग्ने…?’ ओलीले भने, ‘हामीलाई भनेको होला भाग्ने भनेर ! हामी त अलिक बुढा पनि भैसक्यौँ । कुद्न सक्दैनौँ । तपाईंहरूजस्तो जवानलाई मिल्छ । भन्ने वक्तालाई मिल्छ । अब हामी पाका मान्छे कहाँ भाग्ने हौ ! कहाँ कुद्ने ? हैट ! यतिसम्म त नभनौँ भन्छु म ।’

एउटा थोत्रो संस्थाको तर्फबाट मक्काको, खिएको, ढलेको, सडेको संस्थाको तर्फबाट ‘भाग्नुपर्छ तिमेरु’ भनेर नेपाली जनतालाई लल्कार्ने ? भनी प्रश्न गरे ।

‘नेपाली जनता भाग्दैन, नेपाली जनता भाग्ने ठाउँ पनि छैन । नेपाली जनता यस देशका सबभन्दा बढी हकदार हुन्‌ । नेपाली जनता भाग्ने होइन’, ओलीले थपे, ‘२७० भन्ने !संविधानको उल्लेख गर्ने ! संविधान नमान्ने ! संविधान फाल्छु, यो संविधान मान्दिनँ भन्ने ! परेका बेला त त्यही संविधानको धारा चाहिने रहेछ त ! चाहिन्छ…।’

संविधानले २७० धारा व्यवस्था गरेको र यसमा हरेकका अधिकारहरू सुरक्षित भएको ओलीले उल्लेख गरे । अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) देशका दुईवटा सबैभन्दा पुराना, लोकतान्त्रिक सङ्घर्षमा सबैभन्दा बढी योगदान गरेका, इतिहास भएका, यो परिवर्तनको अगुवाइ गरेका, परिवर्तन ल्याएका पार्टीहरूले सोची-विचारीकन बनाएको पनि ओलीले तर्क गरे ।

स्थिरता, स्थायित्व र लोकतन्त्रका लागि संविधान बनेको जनाउँदै ओलीले वर्तमान सरकारले कसैमाथि अन्याय गर्ने, कसैका हक अधिकार खोस्ने कल्पना पनि गर्न नसक्ने बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित