एलिना चौहान भन्छिन् : गालीगलौज गर्नेहरू माफी माग्दै छन् « Khabarhub

एलिना चौहान भन्छिन् : गालीगलौज गर्नेहरू माफी माग्दै छन्


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ”, गायिका एलिना चौहानले भनिन्, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।”

गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका हुन् ।

गीतको टिप्पणीमा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको ‘साइबर ब्युरो’मा उजुरी दिएसँगै माफ माग्नेको सङ्ख्या बढेको हो ।

“डिभोर्सपछि गायिका चौहानले यस्तो गीत गाइन्, उस्तो गरिन् भन्ने र मेरो त नाम नै डिभोर्सजस्तो भयो, फेरि जोडियो सम्बन्ध रे, के के हो के के”, उनले भनिन्, “बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साइबर ब्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु ।”

सामाजिक सञ्जालमा जे पनि लेख्न नहुने भन्दै उनले भनिन्, “सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने ? के लेख्न पाइन्छ ? के लेख्न पाइँदैन ? भन्ने थाहा हुनुपर्छ । व्यक्तिगत कुरामा तथानाम गाली गर्न त मिल्दैन नि ?, त्यो बुझ्न जरुरी छ ।”

सुझावका लागि टिप्पणी गर्नेले प्रतिभाका बारेमा प्रतिक्रिया दिएको उनलाई राम्रो लाग्छ । “तेरो स्वर मन पर्दैन भन्नु म केही भन्दिन, मलाई राम्रो नै भन्नुपर्छ भन्ने हैन”, उनले भनिन्, “मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढ्न मिल्ने खालको होस् न ।”

अश्लील गालीगलौजले आफू र परिवारमा ठूलो तनाव सिर्जना भएको उनले सुनाइन् । “भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने चलनले धेरैको जीवन बर्बाद भएको छ, यस्तो कुराले त्यो व्यक्ति र परिवारमा परेको असरबारे कसैले सोच्दैनन्”, उनले आफ्नो पीडादायी अनुभव सुनाउँदै भनिन्, “त्यसैले यो कदम उठाउन बाध्य हुनुप(यो ।” सामाजिक सञ्जाल नै गाली खाने प्लेटफर्म जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खानका लागि मात्र नभएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उनले खुसी व्यक्त गरिन् । सोही सहानुभूतिले यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको चौहानको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १४ गते ‘साहसी छोरीहरु’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गायिकाहरु चौहान र समीक्षा अधिकारीको तस्बीर राखेर लेखेका थिए, “आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डो¥याउन नदिन र विवेकतर्फ फर्काउनु ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो, समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो, राम्रो गर्न खोज्नेले हिम्मत हार्नुहुँदैन ।”

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सहयोगमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘सूचना प्रवाहमा सामाजिक सञ्जालः अवसर र चुनौती’ विषयक छलफलमा गायिका चौहानले कलाकारहरुलाई अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न र गरेमा सार्वजनिक गर्नुका साथै कानुनी प्रक्रियामा लैजाने चेतावनी दिइन् ।

सामाजिक सञ्जाल आधुनिक समाजको अङ्ग बन्दै जाँदा त्यसको सदुपयोगले प्रशस्तै अवसर र दुरुपयोगले धेरैको व्यक्तिगत गोपनियता र ज्यान समेत जोखिममा पर्ने गरेको छ ।

“छिनछिनमा सूचना र विचार दिन सकिन्छ, सूचनाको जङ्गलमा सही हो कि गलत हो भनेर छुट्याउन कठिन छ”, सञ्चारविज्ञ भुवन केसीले भने, “सूचना प्रवाह गर्ने प्रत्येक व्यक्ति त्यो सूचनाप्रति जवाफदेही हुनुपर्छ, सूचनाको दुरुपयोग गर्नेलाई निरुत्साहित गरी अधिकतम सदुपयोग गर्र्ने प्रणालीको विकास गर्नुपर्छ ।”

उनले सूचना आगोजस्तो भएको उदाहरण दिँदै भने, “सामाजिक सञ्जाल भनेको आगोजस्तै हो, सदुपयोग गरे राम्रो काम गर्छ, नत्र जलाएर खरानी बनाउँछ ।”

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमा आएका सबै समाचार नहुने र व्यक्तिगत हो या सार्वजनिक विषय हो भनेर प्रयोगकर्ताले छुट्याउन जरुरी भएको उल्लेख गर्नुभयो । “सूचनाबाट अफबाह फैलाउन हुँदैन”, उनले भने ।

जानाजान अमर्यादित शब्दको प्रयोग गरेमा कानुनी कारबाही गर्नुपर्ने र पत्रकारिता गर्ने सबैले पत्रकार आचारसंहितको पालना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष शर्माले क्यामेरा बोकेर हिँड्ने र ‘कन्टेन्ट क्रिएट’ गर्ने सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले चौतारी सधैँ जिम्मेवार र उत्तरदायी प्रेसको पक्षमा हुनका साथै सही सूचना मात्र प्रवाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्ले छलफलको आयोजना गरिएको अवगत गराए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ८ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित