नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह « Khabarhub

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूले नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी तथा सहकार्यका थुप्रै सम्भावनाहरू रहेको जनाएका छन् ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल दक्षिण एसियाको सबैभन्दा लोकतान्त्रिक र समावेशी मुलुकमध्ये एक भएको बताए । उनले पछिल्लो समयमा भएको आर्थिक तथा नीतिगत सुधारहरूको उल्लेख गर्दै नेपाल अहिले ऊर्जा निर्यात गर्ने देश बनेको छ र जीवन्त आईटी बजार रहेको बताए ।

राजदूत घिमिरेले बेलायती कम्पनीहरूलाई नेपालको  आईटी सेवा आउटसोर्स गर्न  र नेपालमा लगानी गर्न आग्रह गरे । नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा ब्रिटिश  लगानी लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धि गर्न अहिले उपयुक्त समय आएको बताए ।

उनले आईटी र नवीकरणीय ऊर्जामा लगानीका लागि आधार तयार भएको बताउँदै नेपाल र युकेबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको पनि जनाए ।

ब्रिटिश संसदमा ‘अल नेपाल पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष सांसद एलेक्स बेकरले नेपाल तथा युकेबीच  सीधा हवाई सेवा सुरु गर्न आवश्यक रहेको बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल  सरकारले  ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै नेपालले सूचना प्रविधिमा १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानी गर्न अनुमति, सात वर्षसम्म कर छुट र मुनाफा फिर्ता लैजान सक्ने सुविधा दिएको बताए ।

उनले सातै प्रदेशमा आईटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आईटी प्रवर्द्धन बोर्ड स्थापना गर्ने योजना रहेको समेत सुनाए । उनले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड तयार रहेको जनाए ।

डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने अपार सम्भावना रहेको बताए । उनले नेपालको हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई परिचालन गरी विश्वस्तरीय डेटा सेन्टरहरू निर्माण गर्न सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि, डिजिटल सेवाजस्ता उदाउँदो क्षेत्रको रहे तापनि डिजिटल र सेवा क्षेत्रमा नेपालले विश्वस्तरीय प्रतिस्पर्धा गर्नसक्ने क्षमता देखाएको बताए ।

बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी कम्पनी, जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै नेपालमा लागत कम र गुणस्तर उच्च रहेको एक दुर्लभ संयोजन उपलब्ध रहेको बताए । उनले नेपालका सबै प्रदेशमा प्रविधिको पूर्वाधार विस्तार गर्दै लैजानुपर्ने बताए ।

नेपालका सूचना प्रविधिसम्बन्धी कम्पनीहरूको प्रतिनिधि संस्था, नास आइटीका अध्यक्ष सन्तोष कोइरालाले अहिले करिब नब्बे हजार युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको र वार्षिक करिब ८० करोड अमेरिकी डलर बराबरको आम्दानी यस क्षेत्रबाट भइरहेको बताए ।

कार्यक्रममा आइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल क्लियरिङ हाउस लिमिटेडका सिइओ नीलेशमान सिंह प्रधान,  बेलायतमा कार्यरत युवा उद्यमी रुवि राउत, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाललगायतले नेपाल तथा युकेबीच व्यापार तथा  लगानी बढाउन थुप्रै सम्भावना रहेको बताए । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित