कोदो राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छः कृषिमन्त्री « Khabarhub

कोदो राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छः कृषिमन्त्री


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कोदो राष्ट्रिय दिवसको घोषणा गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।

चौथो राष्ट्रिय कोदो दिवस मनाउन आज ललितपुरको खोकनामा भएको कार्यक्रममा उहाँले कोदोको महत्वका बारेमा सरकार जानकार रहेकाले केही दिनमै कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको बताएका हुन् ।

मन्त्री अधिकारीले कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेना गृहले कोदोका परिकार नियमित बनाउने गरेको बताए । “केही वर्षअघि दुवै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै तिर खोज्दै हिँड्ने अवस्था आएको छ । अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिका कुपोषण जस्ता रोगसँग जुध्न बाध्य भएका छन्, पोषणका लागि पनि कोदोका अनाज नियमित खानुपर्छ”, उनले भने ।

राष्ट्रिय कृषक समूह महासङ्घ र एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज)को आयोजनामा सम्पन्न कार्यक्रममा पोषकीय महत्व बोकेको कोदोबालीको प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिइएको थियो । अनाज र महासङ्घले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउँदै आएको छ ।

संयुक्त राष्ट्र सङ्घले गत वर्ष सन् २०२३ लाई कोदोजन्य बाली वर्षको रूपमा मनाएको थियो । कृषि तथा पशुपंक्षी मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन (एफएओ), भीएसओ नेपाललगायतको सहकार्यमा आज दिवस मनाइएको हो । ‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ आज कोदो दिवस मनाइएको हो ।

राष्ट्रिय कृषक समूह महासङ्घका पूर्वअध्यक्ष नवराज बस्नेतले ‘कु’ अन्नको रूपमा चिनिने कोदो अचेल बहुगुणी चिजको रूपमा परिचित रहेको बताए । कोदोको संरक्षण र उत्पादनमा वृद्धिका लागि सबै तहका सरकारले काम गर्नुपर्ने उनले बताए।

कृषि विज्ञ डा कृष्णप्रसाद पौडेलले भविष्यमा खाद्य सङ्कट हुनेतर्फ सचेत रहँदै समयमा नै कोदो संरक्षण गरेर राख्न अपिल गरे । कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गर्ने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने र राम्रोसँग भण्डारण गरेमा वर्षौसम्म सुरक्षित रहने भएकाले कोदो नै भविष्यमा खाद्य सङ्कट हटाउन सहयोगी हुने उनको भनाइ छ ।

महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोको संरक्षण गर्न राज्यले विशेष पहल गर्नुपर्ने बताए । कोदोलाई सम्मान गर्न र यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकामा उनले जोड दिए । श्रेष्ठले कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता कुनै पनि पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदाजनक हुने दाबी गरे ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्चक्रमा फसेको र स्कुल पढ्ने बच्चा कुपोषण जस्तो रोगको सिकार भइरहेको चर्चा गर्दै त्यसबाट बच्नको लागि कोदोजन्य बालीको उत्पादन प्रवर्द्धन गर्नुपर्ने बताए।

कार्यक्रममा अनाजका अध्यक्ष किरण आचार्यले २०७७ सालमा कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन महासङ्घ र अनाजले कोदो बहस श्रृङ्खलाको सुरुआत गरेको र यसले गर्दा आज कोदोको उपयोग धेरै ठाउँमा बढ्दै गएको बताए ।

कार्यक्रममा राष्ट्रिय समावेसी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेललगायतले कोदोको महत्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए । कोदोको महत्व बुझेर उपभोग बढिहरेको चर्चा गर्दै वक्ताहरूले उत्पादनमा जोड दिएका थिए ।

कृषिमन्त्रीसहितका अतिथि तथा सहभागीले कोदो रोपेर दिवस मनाएका छन् । कार्यक्रममा कोदोका विभिन्न परिकारसमेत खाजाको रूपमा खुवाइएका थिए । पछिल्लो समय कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यावसायिकता र किसानलाई आकर्षण गर्न आवश्यक काम हुन सकेको छैन । सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको जानकाररू बताउँछन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित