सहकारी प्रकरणमा सहमति खोज्न फेरि बालुवाटार पुगे कांग्रेस नेता « Khabarhub

सहकारी प्रकरणमा सहमति खोज्न फेरि बालुवाटार पुगे कांग्रेस नेता


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेशमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू फेरि छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

सोमबार बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि कांग्रेस शीर्ष नेताहरू आन्तरिक छलफल गरेर फेरि बालुवाटार गएका हुन् ।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार पुगेका छन् ।

यसअघि बिहान प्रधानमन्त्री प्रचण्डको आमन्त्रणमा बसेको बैठकमा कांग्रेस उपसभापति खड्का, महामन्त्री थापा, सहमहामन्त्री परियार, नेताद्वय सिटौला र कार्की बालुवाटार पुगेका थिए ।

सत्ता साझेदार एमालेबाट कानुनमन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादीका तर्फबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार पनि बालुवाटारमा थिए ।

बिहानको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी कांग्रेस र सत्ता पक्षीय दलका नेताहरुसँग संसदीय समिति गठनका लागि भइरहेको प्रयास, सहमति जुट्न नसक्नुको कारण आदिबारे छलफल गरेका थिए ।

प्रधानमन्त्रीसहित सत्तापक्षका शीर्ष नेताहरुसँगको बिहानको छलफलमा कांग्रेस लचिलो भएर प्रस्तुत भएको सहमहामन्त्री तथा कार्यदल सदस्य परियारले जानकारी दिएका थिए ।

उनले जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले कांग्रेस सत्तापक्षसँग लचिलो भएर प्रस्तुत भएको तर सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको पनि प्रतिक्रिया दिएका थिए ।

‘सेफ ल्यान्डिङ गरेर जाऔँ । भोलि संसदमा बजेट प्रस्तुत गर्ने दिन छ, यस कारणले आज साँझसम्म टुंग्याऊँ भनेर हामी अलि लचिलो भएर अगाडि बढेका छौँ,’ बालुवाटारबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग भनेका थिए ।

प्रतिपक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सत्तापक्षसँग बसेर धारणा बनाउने र साँझसम्म टुंग्याउने बताएको सहमहामन्त्री परियारको भनाइ थियो ।

‘प्रधानमन्त्रीज्यूले दुवैतर्फको राय लिनुभएको छ । हामीले भनेको कुराहरु सत्तापक्षसँग राख्दै हुनुहुन्छ । उताबाट आएको कुरा हामीसँग राख्नुहुन्छ,’ परियारले भनेका थिए, ‘प्रधानमन्त्रीज्यूले सत्ता पक्षसँग बसेर धारणा बनाउँछौँ, साँझसम्म बसेर अन्तिम टुंगोमा पुर्‍याउँछौँ भन्नुभएको छ ।’

सत्तारुढ दलका शीर्ष नेताहरूसँग कुरा नमिलेपछि कांग्रेसले दिउँसो सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेर आन्तरिक छलफल गरेको थियो ।

कांग्रेससँग सहमति नजुटेपछि सत्तापक्षका नेताहरुले बालुवाटारमै आन्तरिक छलफल गरेका थिए । आन्तरिक छलफल गरेर बालुवाटारबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका आधारहीन लाञ्छनाप्रति कांग्रेसले लिखित क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका थिए ।

‘कांग्रेसले नेकपा एमालेविरुद्ध, श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जुन प्रकारका अराजनीतिक पूर्वाग्रहीपूर्ण आरोप लगाइरहेको छ,’ उनले भनेका थिए, ‘कांग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमायाचना गर्नु पर्दछ । सार्वजनिक माफी माग्नु पर्दछ ।’

पौडेलले कांग्रेस सहमतिको पक्षमै नभएको पनि दाबी गरेका थिए । उपाध्यक्ष पौडेलले कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता नलिए प्रतिवादमा उत्रिनेसमेत चेतावनी दिएका थिए ।

‘कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन् । अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ,’ उनले भने, ‘एमालेविरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ५ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित