एक गाग्री पानी ल्याउन डेढ घण्टा « Khabarhub

एक गाग्री पानी ल्याउन डेढ घण्टा


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिक्कल– माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको बिहानी पानी जोहोमै बित्ने गरेको छ ।

‘बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ’, उनले भनिन्, ‘बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ । लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ ।’

सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ । उनले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताइन्। चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उनको भनाइ छ । त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उनले सुनाइन् । 

‘चिसोपानीबाट ल्याइएको पानी त बिहान एक घण्टा मात्र आउँछ । कहिलेकाँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ’, उनले भनिन्, ‘त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन । कहिलेकाहीँ त ट्यांकरबाट पानी किनेर समेत प्रयोग गर्नुपरेको छ ।’

रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ । पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राईले बताइन् ।

‘विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ । यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो’, उनले भनिन्, ‘खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटकपटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौं ।’

रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएकी छन् । खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा बस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउँछिन् । सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उनको माग छ । बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउँछन् ।

खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ । नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ  । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राई बताउँछिन् । 

खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थी समेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ । 

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गर्नुभयो । सङ्घीय सरकारको विशेष अनुदानबाट रु दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलालाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको बताउनुभयो । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ३ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित