कालीगण्डकी कोरिडोर : चराङ-छोसेर खण्ड आठ वर्षमा पनि पुरा भएन « Khabarhub

कालीगण्डकी कोरिडोर : चराङ-छोसेर खण्ड आठ वर्षमा पनि पुरा भएन


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम शुरु भएको आठ वर्षमा पनि पुरा भएको छैन् ।  

छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दुरीको सडक निर्माणको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीहरूलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाईका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए।

‘वि.स. २०७३ मा शुरु भएको सडक निर्माणको कामले अझै पूर्णता पाएको छैन,’ उनले भने ‘डेढ वर्षपछि गत आर्थिक मसान्तमा कार्यक्षेत्रमा आएका व्यवसायीले सडक निर्माणको कामलाई गति दिन सकेका छैनन् ।’

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न वि.स.२०७३ मा तामाङ–गौरी–पार्वति–कोशी एण्ड न्यौपाने जेभीले २६ करोडमा ठेक्का लिएको थियो । सडकमा धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा सवारी साधन वारपार गर्न समस्या भएको छ । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी छ । 

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ९२ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाँईले बताए।

‘गत असार मसान्तमा पछिल्लो पटक थप भएको ठेक्काको म्याद सकिएपछि हर्जना लगाएका छौ,’ उनले भने ‘पटक पटक म्याद थपेपनि काम पुरा नगरेकाले हर्जना लगाउनुपरेका हो ।’ ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरि ग्राभेल गर्ने लक्ष्य सहित आयोजना सञ्चालन भएको थियो । 

आयोजनाका सूचना अधिकारी चापागाँईले निर्माण कम्पनीलाई फराकिलो बनाउने र पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको सडकलाई ग्राभेल गरेर पूर्णता दिन जरिवाना गरेर दवाव सिर्जना गरिएको बताए । 

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाले विसं २०७२-७३ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो ।  

जोमसोम–कोरला सडकको छ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ । जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड बजेट विनियोजन भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १२ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित