बाल खेलाडीहरू पुरिएको घटना छानबिनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता « Khabarhub

बाल खेलाडीहरू पुरिएको घटना छानबिनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको सिस्नेरीमा छ जना बाल खेलाडीहरू पुरिएको घटनाको निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका छ जना बाल खेलाडीको निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘पीडित परिवारहरूको माग र घटनाक्रम हेर्दा यसमा एन्फा र सम्बन्धित विद्यालयको चरम लापरबाही देखिन्छ, खोलानजिक रहेको असुरक्षित ठाउँमा यति महत्त्वपूर्ण प्रशिक्षण केन्द्र किन राखियो भन्नेदेखि सिस्नेरी बजारमा कुनै मानवीय क्षति नहुँदा पनि यी बाल खेलाडीहरूको कसरी क्षति हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानबिन गर्न आवश्यक छ, म यसका लागि प्रतिपक्षी दलहरूको तर्फबाट पहल गर्ने छु ।’

राजधानीमा छतमा बसेर गुहार माग्दासमेत उद्धार गर्न नसक्ने अवस्थाले पछिल्लो बाढीपहिरोको घटनामा सरकार निकै कमजोर देखिएको उल्लेख गर्दै उनीले यिनै विषयहरू समेटेर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, आफ्नो पार्टीले खबरदारी सभा आयोजना गरेको र आवश्यक परे संसदको विशेष अधिवेशन बोलाएर भए पनि सडक र सदनबाट जनताका आवाजलाई प्रभावकारीरुपमा सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

यो घटनाको निष्पक्षमा छानबिन गरी दोषका आधार कारबाही, मृतक खेलाडीहरूलाई अमर बनाउने गरी एउटा कोष स्थापना गरेर एकेडेमी वा कुनै स्मरणयोग्य संरचना र उनीहरूकै नामबाट नियमित प्रशिक्षण खेलकुद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीहरूको प्रतिमा स्थापना र परिवारलाई उचित राहतका लागि आवश्यक पहल गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले यो संवेदनशील विषय भएकाले सबै दल र सरोकारवालाहरू गम्भीर हुनुपर्ने उल्लेख गर्दै पीडित पक्षलाई पनि सबै सँग भेट गरेर घटनाको यथार्थ जानकारी गराउन आग्रह गरे  ।

पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष प्रचण्डलाई संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएका थिए  । सो क्रममा पीडित परिवारले विद्यालय व्यवस्थापन र एन्फाको चरम लापरबाहीका कारण घटना भएको भन्दै उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।

दुई दिनदेखि इन्द्रसरोवरको ड्याम खोल्ने सूचना आइरहेको बेला बाल खेलाडीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरिएको, अभिभावकले लैजान खोज्दा पनि लैजान नदिएको, पूर्व सतर्कता अपनाएर सिङ्गो सिस्नेरी बजारका बासिन्दा सुरक्षित हुने बेलामा आफ्ना छोराहरूलाई सुरक्षित गर्नतिर नलागेको, विपतको बेलामा पनि परीक्षाका नाममा बालकहरूलाई नछाडिएको, घटनाको ३० घण्टासम्म परिवारलाई सूचना नदिएको, गलत ब्यहोराको जाहेरी तयार गरिएको, शव हस्तान्तरणमा पनि सास्ती दिएर छ दिनपछि मात्रै अन्त्येष्टि गर्न बाध्य बनाएको जस्ता कारणले यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने पीडित परिवारले माग गरेका छन् ।

आफूहरुलाई राहतभन्दा पनि न्याय चाहिएको र त्यसका लागि घटनाको निष्पक्ष छानबिन गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने भन्दै पीडितहरूले आफ्ना सन्तानलाई अमर बनाउने गरी उनीहरूको स्मृतिमा खेल क्षेत्रमा देखिने संरचना र संस्था निर्माण गरिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित