नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन « Khabarhub

नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

महानगरपालिकाले विसं २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि काठमाडौंभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।

काठमाडौंको पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बागमती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोबीखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायत चक्रपथ वरपर सडक तथा करिडोरबाट सञ्चालन हुँदै आएका सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

वडा नं २६ गोँगबुस्थित विष्णुमति नदी किनारामा रहेको आफ्नै स्वामित्वको एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने भनिएकामा केही सार्वजनिक सवारीसाधनले पालना केहीले भने अझै अटेर गरिरहेका छन् ।

नयाँबसपार्कको छेउमै रहेको माछापोखरीको आसपासबाट सार्वजनिक सवारीसाधन सञ्चालन भइरहे पनि उक्त सवारीसाधनलाई आफ्नै स्वामित्वमा रहेको नयाँबसपार्कभित्र ल्याउन महानगरपालिकाले सकिरहेको छैन ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताउँछन् ।

‘हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीलाई अनिवार्य रूपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने भनेका थियौँ तर यातायात व्यवसायीको सिन्डिकेटका कारण उक्त निर्णय कार्यान्वयनमा समस्या देखिएको छ’, उनले भने ।

महानगरपालिकाले उक्त सूचना निकालेपछि काठमाडौँबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डे महानगरपालिकाले गरेको सूचना कार्यान्वयनको चरणमा रहेको बताउँछन्। ‘उक्त निर्णयपछि केही सार्वजनिक सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन्, बाँकी सवारीसाधन पनि चाँडै नै प्रक्रियामा आउँछन्’, उनी भन्छन् ।

नगर प्रहरी प्रमुख पाण्डेले काठमाडौं महानगरपालिकाभित्र  यातायातलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न महानगरले नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको बताए।

यसअघि महानगरपालिकाले चक्रपथको वरपर जथाभावी रूपमा सञ्चालन भएका एक सयभन्दा बढी बस टिकट काउण्टर हटाएको थियो । नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्कभित्र टिकट काउन्टरसमेत निर्माण गरिसकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला काठमाडौंभित्र सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताउँछन् । ‘व्यवसायी र सरकार दुवैलाई सहज हुने ढङ्गले सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्छ’, उनी भन्छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाप्रसाद चतुर्वेदी चक्रपथ वरपर तथा करिडोरमा अवैध रूपमा पार्किङ गरेर राखिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको बताउँछन् ।

‘काठमाडौँ महानगरपालिकाले ‘एक बसपार्क नीति’ लिएको छ, यसलाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ’, उनले भने ।

लामो तथा छोटो दूरीका सवारीसाधन गोङ्गबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले काठमाडौँभित्रको सवारी व्यवस्थापनलाई सहज हुने उनको भनाइ थियो ।

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले नयाँबसपार्क सञ्चालन गरेको हो ।

एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कमा आठ सयको हाराहारीमा सार्वजनिक सवारीसाधन राख्न सकिन्छ । हाल तीन सयदेखि चार सयको हाराहारीमा मात्र सवारीसाधन पार्किङ गरी विभिन्न जिल्लामा आवतजावत हुँदै आएका छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा झण्डै १२ लाख सवारीसाधन सञ्चालनमा छन् ।

पछिल्लो समय मुलुकको राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित