पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा « Khabarhub

पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका कालजयी विचारको अध्ययन-अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ।

नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्दै पुष्पलालले अघि सारेको दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने मुख्य लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो ।

पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पोटेरामा पाँच वर्षअघि निर्माण सम्पन्न सुविधासम्पन्न भवन अन्य अत्यावश्यक संरचनाको अभावमा सञ्चालनमा आउन नसकेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी(एमाले)स्थायी समिति सदस्य खगराज अधिकारीले जानकारी दिए। 

उनका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्ध आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका पुष्पलालका विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ स्थापना गरिएको हो ।

अध्ययन केन्द्रले करिब १० लाख लागतमा खरिद गरिएको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था एवं व्यक्तिको आर्थिक सहयोगसहित रु एक करोड ५० लाख लागतमा भवन निर्माण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका अधिकारीले भने, ‘तीनतले पक्की भवनमा ई पुस्तकालय, तालिमकक्ष, पुष्पलालका सम्बन्धमा अध्ययन–अनुसन्धान तथा खोजी गर्ने संस्था तथा व्यक्तिका लागि आवश्यक नवीन प्रविधिसहितको वातावरण तयार गरिएको छ ।’

पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आयोजित प्रवचन गोष्ठीमा बोल्दै उहाँले यस क्षेत्रको करिब एक सय रोपनी सार्वजनिक जग्गाको संरक्षण गर्दै जननेता मदन भण्डारीलगायत नेताहरूको सालिक निर्माणसहित पुष्पलाल बाटिका विकास गर्ने अध्ययन केन्द्रको लक्ष्य रहेको बताए।

अध्ययन केन्द्रका लागि पहिलो आवश्यकता पोखरा-१७ र २१ जोडने फुस्रेखोलामाथि पक्की पुल भएको बताउँदै उनले डीपीआरअनुसार पुल निर्माण गर्न ४९ करोड लाग्ने जानकारी दिए। पुल निर्माणसँगै अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच सहज हुनेछ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गरेको बताए ।

अर्का केन्द्रीय सदस्य एवं अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गरेपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बिजारोपण भएको स्पष्ट पारे। 

एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गरे। 

अध्ययन केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा–१६ बाटुलेचौर जन्मस्थान भएका उनका सहपाठी एवं अनुयायी कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको सालिकमा माल्यार्पण गरियो । 

विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठका कोखबाट माइलो सन्तानका रुपमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : ०८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित