पानी परेपछि किसान खुसी « Khabarhub

पानी परेपछि किसान खुसी


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सर्वसाधारण किसानलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । समयमा परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । मङ्गलबार मध्यरातयता झरी जसरी परेको पानीले यहाँका किसानको मुहारमा खुसी छाएको हो ।

मन्दमन्द परेको पानीले रुखो जग्गाको माटो मज्जाले गलेपछि अब खनजोत गर्न पाइने भएको छ । पानीबिना ओइल्याउँदै गएका वैशाखी तरकारीका बोट र लहरा अहिले एक-दुई दिनमै लहलहाएका छन् । त्यसैगरी, झपक्क मज्रेका आँप, लिची र रूखकटहरसहितका रूख पानीले जालो र कालो धब्बा पखाली दिएपछि चहकिला देखिएका छन् ।

यसपालि पूरै हिउँद पानी नपरी बित्दा छट्पटिएका किसानमा अब बालीनाली अनुकूल हुने आश जागेको छ । ‘वर्षाको पानीको जादू दुई दिनमै तरकारीका लहरा कति फेरिए’, बारीका फर्सी, लौका, काँक्रा र घिरौँलाका लहलहाएका लहरा देखाउँदै भङ्गाहा–४ रामनगरका किसान मोहन खाँ थारूले भने, ‘अब चाहिँ पछिको मौसम ठिकठिकै रहे वैशाखी तरकारीले मनमाफिक उत्पादन दिने आश जगायो ।’

त्यसैगरी, फलपूmलखेतीका किसानले पनि पछिल्लो वर्षा अमृत बनेको प्रतिक्रिया दिएका छन् । ‘पात र हाँगा नदेखिनेगरी खिलेको मज्जर  रूखका हाँगा र पातमा बसेको जालो र काला धब्बा सबै पखालिएका छन्, फलका रूख परैबाट चहकिला देखिएका छन्’, बर्दिबास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहाले भने, ‘अब मज्जर नझर्ने र राम्ररी टिकोला ९चिचिला० लाग्ने र बढ्ने आश जागेको छ ।’

पछिल्लो वर्षाले जालो, धब्बा पखाल्नसँगै जरामा पर्याप्त चिस्यान पुगेको हुँदा मधुवा ९डढुवारोग० को प्रकोप पनि कम हुने किसानको विश्वास छ । अहिलेको वर्षा राम्ररी टिकोला लाग्न, टिकोला बढाउन, डाँठ दह्रो बनाउन अमृत नै भएको कुशवाहा बताउनुहुन्छ । पानी परेलगत्तै फलफूलका रूख फेरिएपछि किसानले राहत महसुस गरेका छन् । 

जिल्लामा बर्दिबास नगरपालिकाका–३, ४, ५, ७, ९, १०, ११, १२ र १३ का ४० भन्दा बढी बस्ती फलफूल र तरकारीखेतीका पकेट क्षेत्र मानिन्छन् । यसैगरी, गौशाला, भङ्गाहा, मटिहानी, बलवा, मनराशिशवा र पिपरासहितका स्थानीयतहका बस्तीमा फलफूल खेती निकै छ । पछिल्लो वर्षाले खासगरी आँप र लिचीलाई अमृतकै काम गरेको आम किसानको प्रतिक्रिया छ ।

भङ्गाहा–४ रामनगरकै अर्का किसान रामईश्वर ठाकुरले भने, ‘अहिले वर्षाले साथ दियो, अब ठूलो हावाहुरी नलागे टिकोला टिक्छन् ।’ यसपालि अहिले पाइएको वर्षाको अनुकूलता पाइरहे आँप, लिच्चीबाट अपेक्षित उत्पादन लिइने ठाकुर बताउँछन् । पछिल्लो वर्षाले वैशाखी तरकारी (वैशाखमा उत्पादन लिइने मौसमी) खेतीका लागि निकै राहत मिलेको  किसानको भनाइ छ । 

माटोमा चिस्यान नहुँदा तरकारीका बेला (लहरा) र बोट कक्रिँदै गएका बेला परेको पानी अमृत भएको छ । ‘पूरै हिउँद पानी नपर्दा माटो रुखिएर तरकारीका बेला (लहरा) फैलन सकेका थिएनन्’, गौशाला–१० का किसान अरुण कुशवाहाले भने, ‘यो पछिल्लो पानीले अब बग्रेल्ती चिचिला लाग्नेछन् ।’ फलफूल र तरकारीबाहेक उखुका लागि पनि पछिल्लो वर्षा अमृत भएको किसानको भनाइ छ । जिल्लामा पाँच हजार हेक्टर फलफूलखेती र त्यसैको हाराहारीमा वैशाखी तरकारीखेती रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

पछिल्लो वर्षाले गहुँका बालामा पनि पोटिलो दाना लाग्ने किसानको भनाइ छ । यसैगरी, अरहर (रहरी), मुसुरोलगायत दलहनका बोट पनि हरिया भएका छन् । जताततै बुङ्बुङ्ती उड्ने धुलोबाट राहत दिनसँगै ह्वात्तै बढेको गर्मी घटाएर पछिल्लो वर्षाले वातावरण शीतल बनाएको छ ।  

राम्ररी पानी परेर आकाश उघ्रेपछि अब खेतीपातीका काम गर्न सहज हुने किसानको भनाइ छ । पछिल्लो वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब मकै छर्ने, बर्खे कोदो र धानको ब्याड राख्ने काम सुरु गर्न सकिने किसान बताउँछन् । धान काटेपछि चिस्यान नभएर खनजोत गर्न नसकिएको खेत अब जोत्न सकिने भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीका इस्लाम राइन बताउँछन् ।  यसअघि चिस्यान नभएर रुखिएको बाँझो जग्गा अब खनजोत गरी बर्खे बाली लगाउने तयारी गरिने किसानले बताएका छन् ।

पछिल्लो वर्षाले पशुपालक किसान पनि रमाएका छन् । अब चरन क्षेत्रमा नयाँ घाँस पलाउने किसान बताउँछन् । अब यसअघि माटो रुखिएर मरेको दुबो र अन्य घाँस पलाएपछि केही दिनभित्रै पर्याप्त चरन हुने भङ्गाहा–४ रामनगरका भैँसीपालक किसान जुगल सदा मुसहर बताउँछन् ।

यो वर्षाले वन क्षेत्रका पातपतिङ्र मज्जाले भिजाएको हुँदा अब डढेलो पनि पहिलेजस्तो नफैलने वन क्षेत्र नजिकका बासिन्दाको भनाइ छ । यसपालि फागुन मध्यदेखि नै बढेको डढेलोले वन सखाप पारेको छ । एक सातापहिले गौशाला–१२ मा घाटगद्दी गरिएका रु १५ लाखभन्दा बढी मूल्यका काठ डढेलोको चपेटामा परी खरानी बनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १२ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित