बढ्दो मानव बेचबिखन : भिजिट भिसाका नाममा बेचिँदै नेपाली महिला « Khabarhub

बढ्दो मानव बेचबिखन : भिजिट भिसाका नाममा बेचिँदै नेपाली महिला


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारका नयाँ स्वरूप र आयामहरू नियन्त्रणका लागि यसविरुद्ध काम गर्ने सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संघसंस्थाहरुबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

आइतबार डेमोक्रेसी मिडिया नेटवर्कले काठमाडौंमा आयोजना गरेको ‘मानव बेचबिखन तथा ओसारपसारको अवस्था, प्रवृत्ति,  चुनौती र नियन्त्रणका प्रयासहरू’ विषयक कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता गौतम मिश्रले फेसबुक म्यासेन्जर, भाइबर र ह्वाट्सएप जस्ता बिभिन्न सामाजिक सञ्जालको प्रयोग र नक्कली प्रयोगकर्ता निर्माण गर्ने वा विदेशबाटै सन्देश प्रवाह गर्ने क्रमले अनुसन्धानमा कठिनाइ हुने गरेको बताए ।

‘नयाँ स्वरूपका मानव बेचबिखन र ओसारपसारको समस्या सामना गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा चेतना अभिवृद्धि हुन आवश्यक छ’, उनी भन्छन् ‘यस अतिरिक्त भिजिट भिसाको आवरणमा घरेलु श्रमिकको रूपमा काममा जाने र बेचबिखनमा पर्ने जोखिम पनि बढ्दै गएको देखिन्छ ।’

पीडितसँग पीडकको परिचय खुल्ने जानकारी वा पर्याप्त विवरण नहुनाले पीडकको पहिचानमा समेत समस्या हुने उनको भनाइ छ ।

आर्थिक अभाव, बेरोजगारी, पारिवारिक समस्या, सामाजिक अन्याय, साथीसंगती, समृद्धिको सपनाजस्ता कारणहरूले गर्दा देशका विभिन्न भेगका नागरिकहरू मानव ओसारपसार तथा बेचविखनमा सक्रिय दलालको पासोमा पर्ने गरेको उनले बताए ।

मानव बेचबिखनमध्ये ७५–८० प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने गरेको एसपी मिश्रले बताए।

उनी भन्छन्, ‘तुलनात्मक रूपमा महिलाहरू मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेको देखिन्छ। यसको रोकथामको लागि समाजको तल्लो तहसम्म सचेतना र जागरण फैलाउन आवश्यक छ।’

एसपी मिश्रका अनुसार मानव बेचबिखन सम्बन्धी घटनाको अनुसन्धान, अभियोजनाका लागि ब्युरोमा चार वटा पिलर (शाखा) छुट्याएर काम भइरहेको छ।

पहिलो पिलरले नेपाल, भारतमा हुने मानवबेचबिखन तथा ओसार पसार एवं गैरकानुनी अंग प्रत्यारोपणसँग सम्बन्धी मुद्दा हेर्छ । दोस्रो पिलरले पूर्वी एसिया, दक्षिण पूर्वी एसिया, मध्य पूर्वी एसियाका ३८ देश हेर्छ भने तेस्रो पिलरले अमेरिका, अस्ट्रेलिया र युरोप तथा चौंथो पिलरले टर्की र अफ्रिका लगायत ५४ राष्ट्र हेर्ने एसपी मिश्रले बताए।

कार्यक्रममा डेमोक्रेसी मिडिया नेटवर्कका अध्यक्ष शिरोमणि ढुङ्गानाले मानव बेचबिखन, ओसार पसार र तस्करीका बारेमा सत्य सूचना प्रवाह गर्न एवं सार्वजनिक बहसको सुरुआतका लागि सञ्चारमाध्यम र नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताए ।

अध्यक्ष ढुङ्गानाले सञ्चारमाध्यमले समस्याहरू मात्र प्रस्तुत गर्नुभन्दा जानकारी एवं सूचना प्रवाह गरेर सम्भावित जोखिममा रहेका व्यक्ति र आमनागरिकलाई  सुसूचित गर्ने दायित्व बहन गर्नुपर्ने बताए।

डेमोक्रेसी मिडिया नेटवर्क मानव बेचबिखन तथा ओसार पसारजस्तो संगठित अपराधका विरुद्ध नागरिक समाज, सञ्चारमाध्यम, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायहरुसँग साझेदारी गरेर काम गर्न प्रतिबद्ध रहेको अध्यक्ष ढुङ्गानाले बताए।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित