भारतलाई देखाइदिन गुहार माग्दै ओली चीनतिर गए : वर्षमान पुन « Khabarhub

भारतलाई देखाइदिन गुहार माग्दै ओली चीनतिर गए : वर्षमान पुन


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन् ।

माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेश्रो अधिवेशन उदघाटन गर्दै पुनले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरूको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे ।

प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरूले आपत्ति जनाएको पुनले बताए।

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठूला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी समझदारी गरेको स्मरण पुनले गरे ।

तर, वर्तमान सरकारले छिमेकीहरूका बीचमा असन्तुलित सम्बन्ध राख्न खोजेकाले आफ्ना अध्यक्ष प्रचण्डले खबरदारी गरेको पुनले उल्लेख गरे ।

‘विश्वको राजनीति बहुध्रुवीयबाट व्यवस्थातिर गइरहेका बेला मुलुकको कूटनीति सञ्चालन गर्दा कतैतिर नढल्किने गरी परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा वर्तमान सरकारले असन्तुलित नीति अपनाएको छ’, पुनले भने, ‘चार महिनासम्म लगातार प्रयास गर्दा पनि भारतले नबोलाएपछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो । एकातिर ढल्किन खोज्ने, अनि नपत्याएपछि उसलाई देखाइदिन अर्को छिमेकीतिर ढल्किने तरिकाले हाम्रो राष्ट्रिय स्वाधिनता कमजोर बनाउँछ । चीन र भारतबीचमा खेलेर होइन, दुवैसँग सहयोग र सन्तुलनमा जोड दिइनुपर्छ ।’

पुनले ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटकपटक अनुनयविनय गरेर बोलाउन लगाएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म उत्तर छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए ।

पुनले भ्रष्टाचारी जोगाउन बिचौलियाहरूले काँग्रेस र एमाले मिलाएर वर्तमान सरकार बनाएको भन्ने आफूहरूको आरोप घटनाक्रमहरूले पुष्टि गरेको दाबी गरे ।

दायाँबायाँ आधादर्जन बढी भ्रष्टाचार र अनियमिततामा मुछिएका मन्त्रीहरूले घेरिएर आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भाषण बन्द गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
अगाडि फर्किएर भ्रष्टाचारीको मुख हेर्दिन भन्ने ओलीलाई दायाँबायाँ उभिएका आफ्ना मन्त्रीका अनुहार हेर्न उनले सुझाए । ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको उठबस बिचौलिया र अनियमितता गर्नेस्वार्थ समूहसँग रहेको आरोप उनले लगाए ।

ज्ञानेन्द्र शाहले लात हानेका बेला आफूहरूले सहकार्यको हात दिएपछि जनताले तत्कालीन अवस्थामा कांग्रेस र एमालेलाई माफी दिएको भन्दै पुनले भ्रष्टाचारी चरित्र सुधार नगरे ती दुई पार्टीलाई जनताले दण्डित गर्ने टिप्पणी गरे ।

भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध खबरदारी गर्ने र पार्टीलाई परिस्कृत गरी नयाँ जीवन दिने काममा आफूहरू लागेकाले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकार प्राथमिकतामा नरहेको उनको स्पष्टोक्ति थियो ।

माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्नेहरूलाई गत महिना सम्पन्न स्थानीय तहको उपनिर्वाचनले राम्रो जवाफ दिएको पुनले उल्लेख गरे । ०८४ को निर्वाचनमा वडादेखि प्रतिनिधिसभासम्म एक्लै चुनाव लड्न तयारी थालिएको उनले बताए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित