सालक संरक्षण अभियान पुन: सुरु गरिँदै « Khabarhub

सालक संरक्षण अभियान पुन: सुरु गरिँदै


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान तथा संरक्षणार्थ पुनः अभियान थालिने भएको छ । बजेट अभावमा चार वर्षदेखि रोकिएको अनुसन्धान एवं चेतनामूलक अभियान यस वर्षदेखि पुनः थालिने भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ ।

वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा बर्सेनि विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान चार वर्षदेखि हुन सकेको थिएन । 

मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि रु चार लाख रकम विनियोजन गरेपछि सालक संरक्षणार्थ अभियानको कार्यक्रम बनाइने वन कार्यालयका प्रमुख शिवप्रसाद सापकोटाले बताए। उनका अनुसार अघिल्ला वर्षमा गरिएका क्रियाकलापको समीक्षा गरी कुन ढाँचामा अभियान सुरु गर्नेबारे अब छलफल गरिने छ । 

संरक्षण अभियानअन्तर्गत कार्यालयले चार वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यालयका अनुसार प्रदेश सरकारले आव २०७४-७५ मा रु पाँच लाख र आव २०७५-७६ मा रु  दुई लाख बजेट पठाएको थियो । 

तत्कालीन समयमा कुन–कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो । 

विसं २०७८ असारमा पनौती नगरपालिका-८ पाल्पाली गाउँमा एउटा सालक भेटिएको थियो । उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमै छाडिएको थियो । पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्लोलिन’ रहेको कार्यालयको भनाइ छ । 

नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्लोलिन’नै रहेका छन् । सालकको उपयक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम गरिएको थियो । जिल्लाका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ ।

कार्यालय प्रमुख सापकोटाले सालकले बालीका कमिला र धमिरा खान्छ भने पर्यावरणलाई जोगाउन मद्दत पुर्‍याउँछ ।  यसले मानिसलाई भने आक्रमण गर्दैन । सालकसँग १५ सेन्टिमिटर टाढाका कीरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।

पनौतीको बल्थलीस्थित समुदायमा आधारित चोरी-सिकारी नियन्त्रण इकाइका अनुसार स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा सालकको पुरानाभन्दा नयाँ प्वालको सङ्ख्या कमी देखिएको छ । इकाइले स्थानीय दुई सय पचास विद्यालयका विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराइसकेको छ भने इकाईकै पहलमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए ।

कालो सालकको काभ्रेपलाञ्चोकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुंखर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको अनुसन्धानबाट खुलेको कार्यालयको भनाइ छ ।

अनुसन्धानकर्ता प्रतिभा कसपाल कालो सालकको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने देखिएको बताउनुहुन्छ । एसिया र अफ्रिका महादेशमा आठ प्रजातिका सालक पाइन्छन् । त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिमध्ये नेपालमा तामे र कालो सालक छन् । 

सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी समेत हुनेगरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ । 

अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको विज्ञहरू बताउँछन् । 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित