ठूला पूर्वाधार निर्माणले ‘देशमा केही भएको छैन’ भन्ने भाष्य गलत साबित : प्रधानमन्त्री « Khabarhub

ठूला पूर्वाधार निर्माणले ‘देशमा केही भएको छैन’ भन्ने भाष्य गलत साबित : प्रधानमन्त्री


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् ।

हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चचालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको बताए ।

‘तीन ठूला सब स्टेसनहरू नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको  द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सब स्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबस्टेशनहरू निर्माण सम्पन्न भएसँगै ऊर्जा क्षेत्रको विकास र मुलुकको समृद्धितर्फको यात्रामा अर्को एउटा खुड्किलो थपिएको छ ।’

उनले विद्युत् उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न सयौँ किलोमिटर दूरीमा पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीव्र गतिमा भइरहेका बताए ।

विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यति बेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँ बस्तीहरू अँध्यारोमै थिए । तर, अहिले करिब ९५ प्रतिशत भूभागमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । वैकल्पिक ऊर्जासहित करिब ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ ।’

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहनेको बताए ।

उनले अब विद्युत्को पहुँच मात्र होइन, आन्तरिक रूपमा विद्युत् खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण निर्देशन दिए ।

‘करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुनुलाई मैले देशको ऊर्जा विकासका लागि महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि हेटौंडा सबस्टेसन अर्को ठूलो ‘हब’ बनेको छ ।’

नेपाली इन्जिनियर तथा प्राविधिकहरूबाट नै डिजाइन तथा निर्माण सुपरीवेक्षण गरिएका ४०० केभीका तीन वटा सबस्टेसनको निर्माणबाट नेपालको प्राविधिक क्षमता वृद्धि भएको बताउँदै प्रधानमन्त्रीले उक्त ज्ञान, सीप र दक्षलाई अन्य आयोजनामा अनुसरण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १ : २८ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला