इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव « Khabarhub

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिक्कल– अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका-४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । 

सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए।

उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ ।  महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिएका छन् । ‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ ।

महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए। 

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए । महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उहाँको भनाइ छ । महोत्सव आयोजना गर्न १० लाख खर्च हुने आयोजकको अनुमान छ । 

अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृतिसमेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।

अन्तुडाँडामा हिउँद वर्षा दुवै याममा पर्यटकको बाक्लो उपस्थिति हुन्छ । अहिले दैनिक तीन हजारदेखि चार हजारको सङ्ख्यामा पर्यटक सूर्योदय दृश्यावलोकनका लागि अन्तुडाँडा पुग्ने गरेका छन् । सबैभन्दा धेरै शनिबार पर्यटकको घुइँचो लाग्ने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताए। 

सामान्यतया असोज पहिलो सातादेखि मङ्सिर मसान्तसम्म र फागुन पहिलो सातादेखि वैशाख मसान्तसम्म सूर्योदय दृश्यावलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुद्र सहतबाट दुई हजार तीन सय मिटर उचाइमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन् ।

यातायातको सुविधाका कारण धेरै पर्यटक एक रात बस्नकै लागि भए पनि श्रीअन्तु पुग्ने गरेका छन् । पहिलोपटक श्रीअन्तु पुग्ने जोकोही आनन्द लिएर फर्कन्छन् । अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ । सूर्योदय नगरपालिकाको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर  यात्रापछि श्रीअन्तु पुगिन्छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित