ताल संरक्षणमा तमानखोला  « Khabarhub

ताल संरक्षणमा तमानखोला 


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो । बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे । अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ । 

घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन । गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्‍याएको छ ।

पहाडको टुप्पोमा रहेको तालमा ढोरपाटन नगरपालिकाको अधिकारीचौर, तनमाखेला–२ खोलेस्बाङ र भयरबोङ्गा गाउँबाट सहजै पुग्न सकिन्छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट पैदल यात्रा गरेको दुई घण्टामै यहाँ पुग्न सकिन्छ भने गाडीमा एक घण्टामै पुग्न सकिन्छ । पालिका केन्द्रदेखि खोलेस्बाङसम्म गाडी र एक घण्टाको जङ्गलमा पैदल यात्रा गरी करिब ४५ मिनेटमा तालसम्म पुग्न सकिन्छ । 

तालसम्म पुग्नका लागि धेरै गोरेटो रहेको हुँदा पर्यटकलाई यहाँ पुग्न समस्या छैन । ताल र छेउँमै रहेको सिद्ध बराह मन्दिर तथा यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारिरहेको छ । बागलुङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको ताल अघिल्लो वर्षसम्म व्यवस्थित बन्न सकेको थिएन । गाउँपालिकाले केही वर्षयता निरन्तर काम गर्दै आएपछि पर्यटक पनि बढ्न थालेका छन् । केही वर्ष अगाडिसम्म गाउँलेले पूजा गर्ने ठाउँ बराह ताल क्षेत्र हो । 

गोठालाले पशुचौपाया चरन क्षेत्रका रुपमा सो क्षेत्र प्रयोग गर्ने गर्छन् । वर्षौँ पहिले बनेको जीर्ण मन्दिर, खुला ताल र अव्यवस्थित तालका कारण पर्यटक पुग्न सकेका थिएनन् । गाउँपालिकाले मन्दिरको पुनर्निमाणसँगै प्रचारप्रसार थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन् । तमानखोला–२ मुठाचौरमा रहेको बराह तालमा गाउँपालिका र प्रदेश सरकारले अहिलेसम्म रु एक करोड बढी लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए। 

लामो समयदेखि अव्यवस्थित बनेको तालको संरक्षणसँगै अन्य संरचना बनाएपछि अहिले निकै व्यवस्थित बनेको अध्यक्ष बुढामगरको भनाइ छ । पालिकाले ताल र मन्दिर नजिकै शौचालय, खानेपानीको व्यवस्थापनसँगै घेराबार गरिरहेको उनले बताए। पदमार्गसमेत निर्माण भइसकेको हुँदा पर्यटकलाई सहज भएको बुढामगर बताउँछन् ।

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बैशाखे पूर्णिमामा बागलुङका विभिन्न स्थान, गुल्मी, प्यूठान, अर्घाखाँचीलागायत ठाउँबाट भक्तजन पूजाआजा गर्न यहाँ आउने गर्छन् । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला देखिने अध्यक्ष बुढामगरको भनाइ छ । यो याम घुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छे बराह ताल पुग्ने गरेका छन् ।

स्थानीय तिलकुमारी रसाइलीले अहिले बराह ताल राम्रो बनेको बताए। पहिलेपहिले पुशचौपाया र यहाँ आउने मान्छेले ताल फोहर गर्ने गरेको जनाउँदै उनले अहिले पानी सफा रहेको बताए। 

तीन वर्ष अगाडिसम्म नयाँ वर्ष, होली पूर्णिमालगायत पर्वमा पर्यटक यहाँ घुम्न आउने गरेकामा अचेल हरेक महिना तालमा आउने, फूलसँग रमाउने र फोटो खिच्ने गरेको रसाइलीले बताए। तालसम्म बाटो पुगेपछि स्थानीयलाई समान ढुवानी गर्न र यात्रा गर्न सहज भएको उनको भनाइ छ ।

-रासस

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित